सार्वजनिक बिदाको दिन पनि सेवा दिँदै सिमकोट–१ र २ वडा कार्यालय

सार्वजनिक बिदाको दिनमा समेत नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सिमकोट गाउँपालिका–१ र २ नम्बर वडा कार्यालय सञ्चालन गरिएको छ।
वडा कार्यालयका सचिव मनप्रसाद शर्माका अनुसार, सार्वजनिक बिदाको दिन भए पनि अत्यावश्यक काम लिएर कार्यालयमा आउने सेवाग्राहीलाई सेवा प्रदान गरिएको हो। नागरिकलाई सेवा लिनकै लागि अर्को दिन कुर्नुपर्ने अवस्था नहोस् भन्ने उद्देश्यले बिदाको दिन पनि कार्यालयबाट सेवा प्रवाह गरिएको सिमकोट गाउपालिका वडा नम्बर २ का अध्यक्ष देबजङ्ग बोहराले बताउनु भएको छ।
सिमकोट गाउँपालिकाको आधिकारिक वेबसाइटमा पनि वडा कार्यालयबाट जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, बसाइँसराइ तथा समाजिक सुरक्षा भत्ता नवीकरण लगायत सम्बन्धी सेवा प्रदान हुने उल्लेख छ।
सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको कामलाई प्राथमिकता दिँदै कार्यालय सञ्चालन गरेको वडा कार्यालयको यो कदमले नागरिकलाई प्रत्यक्ष राहत पुगेको छ।