अदानचुली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा, जिल्ला चौथो

सिमकोट। हुम्लाको तल्लो भेगमा पर्ने अदानचुली गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। शनिवार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका बीच घोषणा गरिएको हो।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा गाउँपालिका घोषणा गरिएको जनस्वास्थ्य निरिक्षक सन्तोष बुमिले बताए। निश्चित इन्डिकेटरका आधारमा समन्वय  प्रमुख शिवराज शर्माको प्रमुख अतिथि र गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा घोषणा गरेका हुन्।

१५ देखि ५९ महिनाका पुर्ण खोप पाएका बालबालिकाहरु छ वटै वडामा ७ सय ४१ जना रहेका छन । जसमध्ये लौठी स्वास्थ्य चौकी अन्तर्गत पर्ने लमही पाल्सा खोप केन्द्रमा १ सय १९ बालबालिका, हिमाचुली खोप केन्द्रमा ९४ जना, बारिगाउँ खोप केन्द्रमा १ सय २४ जना गरि ३ सय ४७ रहेका छन् ।

त्यसैगरी श्रीनगर स्वास्थ्य चौकी अन्तर्गत पर्ने कल्के मकै खोप केन्द्रमा ७८ , लौठी विगोठि खोप केन्द्रमा ९६ श्रीनगर खोप केन्मा १ सय ६२ जना र दोमुखमा ५८ गरि ३ सय ९४ जना बालबालिका रहेको निरिक्षक बुमिले बताए ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, समन्वय समितिका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि, स्वास्थ शाखाका कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो। जिल्लामा पुर्ण खोप सुनिश्चितता हुने ७ पालिका मध्ये अदानचुली चौथो रहेको छ। यस अघि चङ्खेली , सिमकोट र सर्केगाड गाउँपालिका घोषित भैसकेका छन्।  घोषित कार्यक्रममा स्वास्थ्य चौकी, सञ्चारकर्मी , महिला स्वयंसेवक लगायतलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।