सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रको दुर्गम मानिने बराहताल, चौकुने गाउँपालिका मध्येको एक हो, पञ्चपुरी नगरपालिका । केही समय अघिसम्म राजधानीभित्रै भए पनि यस जिल्लाको पश्चिम क्षेत्रमा बाटो, अस्पताल, स्कुलजस्ता सुविधा कम थिए, त्यसैले यो ठाउँलाई धेरै कठिन ठाउँ अर्थात् ‘अति दुर्गम’ भनिन्थ्यो । पछिल्ला वर्षहरूमा सडक सञ्जालको अभाव, स्वास्थ्य सेवा र शिक्षाका सुविधाका लागि मानिसहरूलाई सदरमुकाम वीरेन्द्रनगर वा सुदूरपश्चिम प्रदेशको कैलालीसम्म धाउनु पर्ने बाध्यता थियो ।
अहिले पश्चिम सुर्खेतले सडकले यस ठाउँको अनुहार नै फेरिदिएको छ । पश्चिम सुर्खेतको तीन वटा पालिका बराहताल, पञ्चपुरी र चौकुनेका गाउँ बस्तीबाट मदन भण्डारी राजमार्ग सुदूरपश्चिमको डोटी जोडिदैंछ । सहायक सडकहरू पनि धमाधम कालोपत्रे भइरहेका छन् । बराहतालको बड्डीचौरदेखि पञ्चपुरीको बावियाचौरसम्मको १३ किलोमिटर सडक कर्णाली प्रदेश सरकारले कालोपत्रेको काम गरिरहेको छ ।
पञ्चपुरी नगरपालिकाको बावियाचौर बजार पश्चिम सुर्खेतको केन्द्रबिन्दुका रूपमा तीव्र गतिमा विकास भइरहेको छ । सङ्घीयतापछिको अवधिमा समग्र पश्चिम सुर्खेतले जस्तै बावियाचौरले पनि तीव्र रूपान्तरणको यात्रा तय गर्दै आएको छ । एक सामान्य बस्तीका रूपमा रहेको यो क्षेत्र अहिले विस्तार हुँदै ठुलो व्यापारिक केन्द्रको रूप लिँदै छ ।
केही वर्ष अघिसम्म सुदूरपश्चिमको अछाम, बाजुरा लगायतका पहाडी जिल्लामा पुग्न सुदूरपश्चिमका तराईका जिल्लाबाट बर्दिया–बाँके हुँदै वीरेन्द्रनगरमार्फत लामो र घुमाउरो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता थियो । अहिले भने त्यो अवस्था अन्त्य भएको छ ।
कर्णाली प्रदेशको चिसापानी हुँदै बावियाचौर जोडिने नयाँ मार्ग सञ्चालनमा आएसँगै सुदूरपश्चिमबाट सीधा कर्णाली राजमार्गमार्फत पहाडी जिल्लामा सवारीसाधन आवतजावत गर्न थालेका छन् । यसले स्थानीय मात्र होइन, दुर्गम पहाडी जिल्लाका बासिन्दालाई पनि सहज र छिटो यातायात सेवाको पहुँचमा पुर्याएको छ ।
‘सघियता पछि बनेका सडक संरचनाले पश्चिम सुर्खेतलाई नयाँ रूप दिइसकेको छ,’ पञ्चपुरी नगरपालिकाका मेयर लालवीर भण्डारीले भने, ‘सडक पूर्वाधारका कारण पश्चिम सुर्खेत अव दुर्गम रहेन ।’ मेयर भण्डारीले भनेजस्तै गाउँ बस्ती जोड्दै अघि बढेको मदन भण्डारी राजमार्गसँगै केही रणनीतिक महत्वका सडक र स्थानीय सडकले सबै गाउँ बस्तीलाई जोडेका छन् ।
हाट–भोटको बाटो भनेर चिनिने सुदूरपश्चिमको अछाम जोड्ने चतुरे–दह ताल हुँदै जंगलाघाट सडकको स्तरोन्नतिको काम भइरहेको छ । कर्णाली नदीमा पुल बन्दै छ । पलेँटै–जम्फुफाँट–हाँसे गाउँ सडक, कालापानी–बरैँचे सडक, चिउरी खेत–जंगाला–चलानी सडकको काम पनि तीव्र गतिमा भइरहेको छ । आँपसैनी–डाब–बरैचे सडक, रङ्गशाला–चतुरे सडक, प्रहरी चौकी–चौतारा सडक, चिसापानी–कुइने बावियाचौर सडक खण्डमा कालोपत्रेको काम भइरहेको छ ।
स्थानीय तहको दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष पुग्यो । यो अवधिमा पञ्चपुरीले सडक र अन्य पूर्वाधार निर्माणका साथै सामाजिक सेवामा पनि महत्त्वपूर्ण काम गरेको छ । मेयर भण्डारीका अनुसार तीन वर्षको अवधिमा भावरदेखि माल्फा जोड्ने झोलुङ्गे पुल, चुनेरी तालमा झोलुङ्गे पुल, लामी दमारदेखि तोक्मा जोड्ने झोलुङ्गे पुल र दुलाल थाईमा झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको छ । तिखाकुना खोलामा सडक पुल निर्माणका लागि ठेक्का सम्पन्न भएको छ । यस्तै माझिगाऊँ र र लामसीदमारमा ट्रस पुल निर्माण सम्पन्न भएका छन् ।
मेयर भण्डारीले आफ्नो तीन वर्षे कार्यकालमा विद्यापुरमा ५० लाख रुपैयाँको लगानीमा तरकारी सङ्कलन केन्द्र र डेरी सञ्चालनमा ल्याइएको, शिव शक्ति धाममा एक करोड १५ लाख रुपैयाँमा सभाहल भवन, भोजनालय र गुरु आश्रम निर्माण गरिएको बताए । उनले यो अवधिमा छ वटा दुई कोठे भवन, चार वटा चार कोठे विद्यालय भवन, एक ज्येष्ठ नागरिक भवन, एक अपाङ्गता भएकाहरूका लागि भन र छ वटा अन्य सार्वजनिक भवन निर्माण गरिएको जानकारी दिए ।
तीन वर्षको अवधिमा नगरपालिकाले विभिन्न सिँचाइ कुलोहरू निर्माण तथा मर्मत गरेको छ । एक करोड १० लाख रुपैयाँको लागतमा १७ सय मिटर लामो चुराफाले–समैचे सिँचाइ कुलो निर्माण, ३८ सय ८५ मिटरको पक्की सिँचाइ कुलो निर्माण गर्नुका साथै तीन वटा सिँचाइ पोखरी निर्माण गरिएको उनले जानकारी दिए ।
नगरपालिकाले बरडम्मादेखि खरालटोलसम्म दुई करोडको लागतमा छ सय मिटर तटबन्धन गर्नुका साथै जामुस्थित बागगाड खोलामा पाँच करोड ५० लाखको लागतमा तटबन्धन, गल्फाखोलामा एक करोडको लागतमा खुर्सानीबारी टोलमा ७१ लाखको लागतमा तटबन्धन निर्माण सम्पन्न गर्नुका साथै ढुंगीबजारमा तीन करोडको लागतमा तटबन्धन निर्माणको काम सुरु भएको जनाएको छ ।
नगरपालिकाले आधारभूत तह (कक्षा १–८)सम्म स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । पञ्चपुरी नगरपालिका–२ मा रहेको सूर्यप्रकाश माविमा २० कोठे पक्की भवन निर्माण गरिनुका साथै शैक्षिक गुणस्तर कार्यक्रम लागू गरिएको छ । विद्यापुरको जनता माविमा एक करोडको लागतमा भवन निर्माण गरिएको छ भने समूह प्राविमा सञ्चालित विशेष शिक्षा कार्यक्रमका लागि आवास भवन, अपाङ्गमैत्री शौचालयलगायतका संरचना निर्माण गरिएको उनले जानकारी दिए ।
नगरपालिकाले असहाय तथा अभिभावक नभएका बालबालिकाहरूलाई कक्षा १० सम्म छात्रवृत्ति दिँदै आएकोमा चालू आर्थिक वर्षदेखि कक्षा १२ सम्म पूर्ण छात्रवृत्ति दिइने जनाएको छ । नगरपालिकाले १५ शैयाकाे भवन निर्माण सम्पन्न गरेर सेवा दिइरहेको छ । ‘अहिले सबै वडाहरूबाट नसर्ने रोग तथा मानसिक रोगको स्क्रिनिङ, बिरामीहरूलाई परामर्श तथा औषधि उपचारसहितको चिकित्सकीय सेवा प्रदान गर्ने गरेका छौँ,’ मेयर भण्डारीले भने, ‘चौमासिक रूपमा सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत ग्रामीण अल्ट्रासाउन्ड तथा ल्याबसहितको सेवा प्रदान गरिरहेका छौँ ।’ नगरपालिकाले महिला स्वास्थ्य स्वयम्सेवीकाहरुलाई वार्षिक १५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिँदै आएको छ भने प्रसव सम्बन्धी जटिल बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको छ ।
नगरपालिकाले पछिल्लो तीन वर्षको अवधिमा झन्डै दुई हजार नागरिकको घरमा धारा जडान गरिएको छ । बरैचे खानेपानी आयोजनाबाट ४८१ धारा, माझिगाऊँ खानेपानी आयोजनाबाट १२४, राजी धारा खानेपानी आयोजनाबाट २९६, मुरमुरी खानेपानी आयोजनाबाट ४५१, दुलाल थाई माझिगाऊँ चुनेरी ताल खानेपानी आयोजनाबाट ४७२ताउले खानेपानी आयोजनाबाट ४७, लाटी काँडा खानेपानी आयोजनाबाट ४२ धारा जडान गरिएको छ ।
नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि चौपायाहरूमा ट्याग लगाएर अभिलेख राख्ने गरेको छ । मेयर भण्डारीका अनुसार हालसम्म ४७६ घर दुरीका एक हजार १७ पशु चौपायालाई ट्याग लगाएर अभिलेखीकरण गरिएको छ ।
पञ्चपुरी नगरपालिका पयटकीय क्षेत्रले भरिपूर्ण क्षेत्र हो । यहाँको शितलगुफामा पर्यटकीय पूर्वाधार निर्माणको काम भइरहेको छ । दह तालको संरक्षण तथा पर्यटन पूर्वाधार निर्माणको काम गरिरहेको छ भने शिव धाम धार्मिक स्थलमा १०८ गौमुे द्दारा र १०८ शिवलिङ्ग स्थापना गरेको छ ।