हुम्लामा भाइटीका पर्व हर्षोल्लासका साथ मनाइयो

हुम्ला जिल्लामा हिन्दु नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत भाइटीका पर्व हर्षोल्लासका साथ मनाइएको छ। दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुख, शान्ति तथा समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका र माला लगाएर भाइटीका मनाएका हुन् । यस अवसरमा दिदीबहिनीहरूले दाजुभाइलाई टीका, माला तथा मिठाई प्रदान गरेका थिए भने दाजुभाइहरूले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर माया र सम्मान व्यक्त गरेका थिए।

हुम्लाका विभिन्न गाउँबस्तीमा पारिवारिक भेटघाट, आपसी सद्भाव र आत्मीयताका साथ भाइटीका मनाइएको छ। रोजगारी, अध्ययन तथा अन्य कारणले घरबाहिर रहेका दाजुभाइ तथा दिदीबहिनीसमेत चाडपर्व मनाउन घर फर्किएपछि गाउँघरमा थप रौनक छाएको छ।

भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास र सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।