सिमकोटमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला सम्मेलन सम्पन्न, संगठन विस्तार र जनजीविकाका मुद्दामा जोड

नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति हुम्लाले बुधबार सिमकोटमा पत्रकार सम्मेलन आयोजना गर्दै संगठन विस्तार, जनजीविकाका सवाल तथा आगामी कार्यक्रमबारे निर्णय सार्वजनिक गरेको छ । सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज तथा नेताहरूले पछिल्लो अवधिमा सम्पन्न भएका गतिविधि र आगामी कार्ययोजना बारे जानकारी दिएका थिए । पार्टीले विभिन्न जनवर्गीय विभागका प्रमुखहरूलाई जिम्मेवारी तोकेको जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रस्तुत विवरण अनुसार गत वर्षभर पार्टीले विभिन्न पालिकामा सदस्यता तथा समिति समायोजन कार्यक्रम सञ्चालन गरेको, सदस्यता नवीकरण अभियान, भेरी कर्णाली जनअभियान, भेरी–कर्णाली प्रदेश अभियान, श्रम अभियान तथा विभिन्न राष्ट्रिय महासंघ गठनका कार्यक्रम सम्पन्न गरेको जानकारी दिइएको छ । त्यसैगरी, जिल्ला तथा पालिकास्तरीय संगठन सुदृढीकरण अभियान अन्तर्गत जिल्ला समिति, सर्केगाड, चंखेली, अदानचुली, ताँजाकोट, नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिका समितिको समायोजन गरिने जनाएकोे छ । साथै, वडा समितिहरूको पनि समायोजन गरिने समेत बताईएको छ ।

पार्टीले आगामी दिनमा “एक नेता–एक उत्पादन, एक पालिका–एक उत्पादन“ अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । स्थानीय उत्पादन प्रवद्र्धन र आर्थिक आत्मनिर्भरतामा जोड दिने उद्देश्यले उक्त अभियान अघि बढाइने बताइएको छ । त्यस्तै, सम्मेलनमा सीमा विवाद, प्रदेशबाट विभेदपूर्ण रूपमा पारिएका योजनाको विरोध, सर्वसाधारणका आधारभूत आवश्यकता र जनजीविकासँग सम्बन्धित विषयमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत सार्वजनिक गरिएको थियो ।

आर्थिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने, पार्टीको बैंक खाता सञ्चालन गर्ने, जिल्ला सदस्यहरूको वार्षिक लेवी संकलन गर्ने तथा आगामी स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गरी विशेष आर्थिक योजना तयार गर्ने निर्णय पनि सम्मेलनमा प्रस्तुत गरिएको थियो । पार्टीले संगठनलाई थप सुदृढ बनाउँदै जनताका समस्या समाधानका लागि सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।