सिमकोटको बालमन्दिर माविमा नयाँ व्यवस्थापन समिति गठन

हुम्ला। सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) गठन गरिएको छ। अभिभावकहरूको उपस्थितिमा विहीवार सर्वसम्मत रूपमा समिति चयन गरिएको हो।

गाउँपालिकाको सूचना अनुसार साउन ४ गतेसम्म सबै विद्यालयले नयाँ वि.व्य.स. गठन गरी नामावली शिक्षा शाखामा पेस गर्नुपर्ने भनिएको थियो। सोहीअनुसार धर्मराज बोहराको अध्यक्षतामा समिति गठन गरिएको हो। समितिमा प्रेम भण्डारी खुला सदस्य, अजिता देवकोटा रोकाया र शारदा चौलागाईं महिला सदस्यको रूपमा चयन भएका छन्।

यसैबीच, शिक्षक–अभिभावक संघको अध्यक्षमा पनि गोर्ख बोहरा सर्वसम्मत चयन भएका छन्। आठ सदस्यीय समितिमा रुद्र सिंह, कालीबहादुर कामी, लोग भण्डारी, लालहिरा सुनार, विसु महत, चन्द्रा सिंह (शाही) र कुम्भ रोकाया निर्वाचित भएका छन्।

गाउँ शिक्षा ऐन, २०७८ को दफा १३ को उपदफा १ र ७ अनुसार गठन गरिएको यो समिति सिमकोट गाउँपालिकामा गठन भएको दोस्रो वि.व्य.स. समिति हो।