सिमकोट ७ मा पाङ्लाथुङ्मा जीप दुर्घटना, चार जना घाइते

सिमकोट गाउँपालिका ७ पाङ्लाथुङमा बुलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। उक्त बुलेरो जिप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो। धारापोरी प्रहरी चौकिका सहायक प्रहरी निरीक्षक मोहन परियारको नेतृत्वमा ३ जनाको टोलि खटी घाइतेहरूको उद्धारकार्य गरि क.प्र. ०२००१ ज ०९०० नम्बरको गाडीमार्फत उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याइएको छ।

घाइते हुनेहरूमा सवारी चालक चालक सुर्खेत जिल्ला बराहताल गाउँपालिका–७ निवासी अन्दाजी २८ वर्षीय रमेश सिजापति रहेका छन्। उनको टाउकोमा चोट लागेको छ । त्यसैगरी सिमकोट गाउँपालिका–७ पाङलाथुङ निवासी २८ वर्षीय गंगबहादुर शाहीको टाउको तथा दुवै हातमा चोट लागेको छ। सोही स्थानकी ५५ वर्षीया गंगासरा शाहीको टाउको र चिउँडोमा चोट लागेको छ भने ४० वर्षीय गोकुल शाहीको दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। चारै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक शङ्खर खड्काले जानकारी दिनुभएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको समेत प्रहरी नायव उपरिक्षक शङ्खर खड्काले जनाएका छन् ।