लाम्पाटा–रानीखर्क सीमा विवादबारे जिल्ला प्रशासन कार्यालय हुम्लामा धर्ना

हुम्ला जिल्लाको कवाडी–लाम्पाटा–रानीखर्क सीमा विवाद समाधानको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय हुम्लाको गेट अगाडि धर्ना कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार दिउसो दिउँसो १ः१७ बजेदेखि सिमकोट गाउँपालिका–५ स्थित जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना कार्यक्रम सुरु भएको हो। कार्यक्रम कवाडी–लाम्पाटा–रानीखर्क संरक्षण अभियान, हुम्ला का संयोजक प्रकाशबहादुर शाहीको नेतृत्वमा सञ्चालन गरिएको थियो ।

धर्ना कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावल, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी,अदानचुलि गाउँपालिका अध्यक्ष मोहन सिंह सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया तथा नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामालगायत तीनवटै स्थानीय तहका वडा अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

धर्ना कार्यक्रममा सहभागीहरूले सीमा विवाद समाधानका लागि विभिन्न माग अघि सारेका छन् । उनीहरूले हुम्लाको लाम्पाटामा सहमतिबिना स्थापना गरिएको संयुक्त सुरक्षा बेस क्याम्पलाई नेपाल सरकारद्वारा गठित अध्ययन समितिको प्रतिवेदन सार्वजनिक नभएसम्म बाजुराको गुम्बा क्षेत्रमा सार्न माग गरेका छन् ।

यस्तै, मानवीय संवेदनशीलता र अत्यावश्यक सेवासँग जोडिएको राष्ट्रिय राजमार्ग कर्णाली करिडोर पटक–पटक बन्द गर्ने कार्यको अन्त्य गर्न, अभद्र व्यवहार तथा वन तस्करी मुद्दाका बाजुराका अभियुक्तलाई तत्काल पक्राउ गरी निर्दोष हुम्लीमाथि लगाइएका झुटा मुद्दा खारेज गर्न तथा सीमा विवादसम्बन्धी अध्ययन समितिले यथाशीघ्र काम सुरु गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसमेत राखिएको छ । धर्नामा सहभागीहरूले प्रमाण र भूगोलको आधारमा सीमा विवादको समाधान हुनुपर्ने भन्दै सम्बन्धित निकायलाई शीघ्र पहल गर्न आग्रह गरेका छन् । आन्दोलनकारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म संघर्षका थप कार्यक्रम घोषणा गर्न सकिने चेतावनीसमेत दिएका छन् ।