सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको सिमकोट गाउँ पालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

घोषणा कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारीको अध्यक्षता जिल्ला समन्वय समिति निमित्त प्रमुख सरिता रावतको प्रमुख आथित्यमा र सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला भाम रोकायाको बिषेश आथित्यमा संचालन भएको थियो । यसै गरि प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि स्वयमसेविका तथा पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सिमकोट गाउँ पालिका अध्यक्षले बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्न खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको बताएका छन् । स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाभित्रका सबै वडामा खोप लगाउने बालबालिकाको विवरण संकलन, अनुगमन तथा प्रमाणीकरण प्रक्रिया पूरा भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

यस उपलब्धिले बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा खोप अभियान सफल बनाउन योगदान पु¥याउने पत्रकार महासंघ तथा संचारकमिहरुलाई कदरपत्र प्रदान गरिएको थियो । यसै गरि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकहरूलाई सिमकोट गाउँ पालिका स्वास्थ्य शाखाले धन्यवाद दिइएको छ । साथै आगामी दिनमा पनि नियमित खोप कार्यक्रमलाई निरन्तरता दिँदै पूर्ण खोपको अवस्थालाई दिगो बनाइराख्न सबै पक्षको सहकार्य आवश्यक रहेको जोड दिइएको थियो । सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिनु स्थानीय स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । कार्यक्रम स्वास्थ्य शाखा प्रमुख नर बहादुर भण्डारीले संचालन गरेका थिए ।