राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने

स्वास्थ्य सेवा कार्यालय हुम्ला र सिमकोट गाउँपालिकाबीच राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सिमकोट गाउँ पालिकाको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा कार्यक्रममा यो सम्झौता गरिएको हो । सम्झौतापत्रमा स्वास्थ्य सेवा कार्यालय हुम्ला कार्यालय प्रमुख डा. उमाकान्त तिवारी र सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिमकोट गाउँपालिकामा कार्यरत राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले हुम्ला जिल्ला अस्पतालमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नेछन् । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि स्वयंसेवामार्फत मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, जनचेतना अभिवृद्धि तथा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको सम्मानस्वरूप उक्त व्यवस्था गरिएको जनाइएको छ ।

सम्झौताअनुसार हुम्ला जिल्ला अस्पतालले स्वयंसेविकाहरूलाई अस्पतालमा उपलब्ध सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्नेछ भने सिमकोट गाउँपालिकाले सम्बन्धित स्वयंसेविकाहरूलाई जानकारी गराउने तथा आवश्यक परिचयपत्र उपलब्ध गराउने जिम्मेवारी लिएको छ। सेवा लिन जाँदा स्वयंसेविकाले अनिवार्य रूपमा परिचयपत्र साथमा लैजानुपर्ने व्यवस्था गरिएको छ ।