रानीसैन क्षेत्रको विवादबारे नाम्खा गाउँपालिकाको प्रेस विज्ञप्ति, भ्रम सूचना नफैलाउन आग्रह

नाम्खा गाउँपालिकाले हुम्ला र बाजुरा जिल्लाको सीमावर्ती पर्यटकीय तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण रानीसैन क्षेत्रको सीमांकन तथा उपभोग सम्बन्धी विवादका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै भ्रम र तथ्यहीन सूचना प्रसारण नगर्न आग्रह गरेको छ । गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा रानीसैन क्षेत्रको विवाद समाधानका लागि नेपाल सरकारले समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइरहेको उल्लेख गरिएको छ । यस्तो अवस्थामा बाजुरा जिल्लाका केही स्थानीय बासिन्दा, पत्रकार, राजनीतिक दल तथा नागरिक समाजका व्यक्तिहरूबाट निरन्तर रूपमा भ्रम सूचना प्रकाशन तथा प्रसारण भइरहेको भन्दै गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ति अनुसार नाम्खा गाउँपालिका–३ अन्तर्गत पर्ने रानीसैन क्षेत्रमा विगतदेखि नै कानुनी व्यवस्था अनुसार जिल्ला भित्र तथा बाहिरका पशुपालकबाट शुल्क संकलन गर्दै चरिचरन तथा गोठ व्यवस्थापन हुँदै आएको छ । साथै सो क्षेत्रको पूर्वाधार विकास लगायतका कार्यहरू पनि नियमित रूपमा सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले केही पक्षबाट नाम्खा गाउँपालिकाले पशुचौपाया चराउन रोक लगाएको, गोठ भत्काएको तथा रानीसैन क्षेत्रमा प्रवेश गर्न नदिएको जस्ता प्रचारहरू तथ्यहीन रहेको स्पष्ट पारेको छ ।

विगतदेखि प्रचलनमा रहेको कानुनी व्यवस्था अनुरूप शुल्क तिरेर चरिचरन तथा गोठ निर्माण गर्न सकिने व्यवस्था यथावत रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । नाम्खा गाउँपालिकाले विवाद समाधानका लागि सरकारी स्तरबाट प्रक्रिया अघि बढिसकेको अवस्थामा अनावश्यक प्रचारप्रसार, यातायात अवरुद्ध गर्ने तथा आधारभूत सेवामा असर पुग्ने गतिविधि नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ । साथै विवादको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सम्बन्धित सबै पक्षसँग अपिल गरिएको छ । उक्त प्रेस विज्ञप्तिमा नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले हस्ताक्षर गरेका छन् ।