हुम्लामा निर्वाचन प्रहरीे आवेदन दिनेको संख्या अत्यधिक चार दिनमा ७ सय १ जना

प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी हुम्ला जिल्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि दरखास्त आह्वान गरिएको छ । निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति हुम्लाका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मातहतमा खटिने गरी एकीकृत रूपमा निर्वाचन प्रहरी भर्ना खोल्ने निर्णय गरिएको हो ।
यसअन्तर्गत नेपाल प्रहरीतर्फ ५ सय ४९ जना र सशस्त्र प्रहरी वलतर्फ ४६ जनाको आवेदन माग गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाको पारिवारिक स्रोतले बताएको छ ।

पुस २५ गतेदेखि खुलेको भर्ना आवेदन माघ १ गतेसम्म रहने जनाइएको छ । दरखास्त दिने समय बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म तोकिए पनि अत्यधिक संख्यामा आवेदन परेकाले सो समयभित्र आवेदन लिन नसकिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता विष्णु श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार भर्ना आह्वान गरिएको चार दिनमा ७ सय १ जनाले आवेदन दिइसकेका छन् । जसमा ५ सय १६ जना पुरुष र १ सय ८५ जना महिला रहेको समेत जानकारी दिनुभइको छ ।
निर्वाचन प्रहरीको नियुक्ति अवधि ४० दिनका लागि रहनेछ भने आवश्यकता अनुसार सरकारले अवधि थप गर्न सक्ने व्यवस्था रहेको छ ।
निर्वाचन प्रहरीले प्रतिदिन ८ सय ६९ रुपैयाँका दरले पारिश्रमिक पाउनेछन्, जस अनुसार ४० दिनको कुल पारिश्रमिक ३४ हजार ७ सय ७६ रुपैयाँ तोकिएको छ ।
हुम्लामा प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा कुल ३४ हजार ३ सय ७२ जना मतदाता रहेका छन्, जसमा १८ हजार २१ जना पुरुष र १६ हजार ३ सय ५१ जना महिला छन् । जिल्लाभर ६० मतदान स्थलमा ६४ मतदान केन्द्र तोकिएको छ ।