खाद्य व्यवस्था शाखा कार्यालय हुम्लाद्वारा वार्षिकोत्सबको अवसरमा शैक्षिक सामाग्री हस्तान्तरण

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
शाखा कार्यालय हुम्लाले खाद्य तथा शैक्षिक सामग्री प्रदान गरेको छ। बुधवार शाखाले छैटौं वार्षिकोत्सवको अवसरमा
हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग विद्यालयलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो।

उक्त समाग्रीमा ६० थान साबुन, १२० पेन्सिल, ५० कलम, १५६ स्याम्फु, ९६ ठूलो कापी, १५० सानो कापी, १ भलिबल, ५ नेलकट, ४ बोरा अरुवा सोना मंसुली चामल र १ पेटी तेल रहेका थिए।

विद्यालयकी प्रधानाध्यापक कमला लामालाई सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले कम्पनीले जनताको सुख–दुःखमा सधैं साथ दिएको उल्लेख गर्दै, खाद्य सुरक्षामा शाखा कार्यालयको योगदानको प्रशंसा गरे। कार्यक्रममा शैक्षिक सामग्री लामा सिर्जना जेभी र अधिकृत बिक्रेता च्याङ्ला अर्डर सप्लायर्सको सौजन्यमा तथा खाद्यान्न र तेल शाखा कार्यालयको व्यवस्थापनमा वितरण गरिएको हो।

जिल्ला समन्वय समितिका का.वा. प्रमुख दलु फडेराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत, सिमकोट गाउँपालिका–१ का अध्यक्ष गोर्ख लामा, निमित्त जिल्ला समन्वय अधिकारी सन्तोष शर्मा, कम्पनीका वरिष्ठ सहायक कैलाश ऐडी लगायतको सहभागिता थियो।