साढे ११ अर्व बराबरको रकममा कर्णालीका १६ हजार घर बीमा

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले आजदेखि घर बीमा कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ। प्राकृतिक विपद् जोखिम उच्च रहेको भन्दै स्थायी बासिन्दाहरूको निजी आवासीय घरलाई सुरक्षाको प्रत्याभूति दिन प्रदेश सरकारले पहिलो चरणमा १६ हजार घरको बीमा गराएको हो।

मुख्यमन्त्री यामलाल कडेलले घर बीमा कार्यक्रम प्रदेश सरकारले थालनी गरेका नवीनतम कार्यहरूमध्ये एक भएको उल्लेख गरे। उनले भने, “साना लगानीमा नागरिकको सम्पत्ति सुरक्षित राख्न सकिन्छ। क्षति भएपछिको राहतभन्दा बीमामार्फत पूर्वसुरक्षा प्रभावकारी हुन्छ।” साथै उनले कृषि र पशु बीमा कार्यक्रमलाई पनि यस्तै प्रभावकारी रूपमा अगाडि बढाउने आवश्यकता औंल्याए।

बीमा गरिएको घरहरूको कुल मूल्य साढे ११ अर्ब रुपैयाँ बराबर रहेको छ। यो कार्यक्रम आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत अघि सारिएको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार विपद् व्यवस्थापनलाई संस्थागत बनाउन फागुन १३ गते मन्त्रिपरिषदबाट ‘घर बीमा कार्यविधि २०८१’ स्वीकृत गरिएको थियो।

कार्यविधिअनुसार प्रदेशका १० जिल्लाका २३ स्थानीय तहहरूलाई सहभागी हुन आग्रह गरिएकामा १५ स्थानीय तहबाट आवश्यक विवरण प्राप्त भएपछि त्यहाँका १६ हजार ७२ घरमा बीमा पोलिसी जारी गरिएको हो। बीमा कार्यान्वयनका लागि नेपाल बीमा प्राधिकरणले छनौट गरेका २३ वटा बीमा कम्पनी परिचालन गरिएको थियो।

कार्यविधिको दफा ५ अनुसार, प्रति घर अधिकतम २० लाख रुपैयाँसम्मको बीमाको प्रिमियम प्रदेश सरकारले व्यहोर्नेछ। यदि घरको मूल्यांकन २० लाखभन्दा माथि भएमा बाँकी रकम घरधनीले स्वयं तिर्नुपर्नेछ।

यस कार्यक्रमअन्तर्गत हालसम्म ९८ लाख २४ हजार ८९३ रुपैयाँ प्रिमियम भुक्तानी गरिएको मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिए। सचिव शाहीका अनुसार, बीमालेखले भूकम्प, आगलागी, हावा, पानी, चट्याङ, पहिरो, बाढी, डुवान, धक्का, स्वजलन, आतंकवाद, हुलदंगा लगायतका १२ प्रकारका जोखिमहरू समेट्नेछ।

मन्त्रालयका उपसचिव उत्तम गौतमका अनुसार, चालु आर्थिक वर्ष ०८२/०८३ मा बीमा कार्यक्रमका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। अघिल्लो वर्ष समावेश हुन नसकेका स्थानीय तहलाई यस वर्ष समेट्ने तयारी छ।

बीमा भएका स्थानीय तह र घर संख्या

स्थानिय तह    जिल्ला    बीमा घर संख्या 

१) शारदा नगरपालिका,सल्यान       ४७०७

२) ठाँटीकाध गाँउपालिका, दैलेख          ५२६

३) गुर्भाकोट नगरपालिका, सुर्खेत           ९१६

४) लेकबेशी नगरपालिका, सुर्खेत           २६५

५) बराहताल गाँउपालिका, सुर्खेत          २४६९

६) त्रिवेणी गाँउपालिका, रुकुमपश्चिम       ३३९

७) सानीभेरी र्गाँउपालिका, रुकुम पश्चिम     २१२

८) तिलागुफा नगरपालिका, कालीकोट       ६५५

९) पलाता,            कालीकोट       ६४३

१०) महाबै,          कालीकोट       ६८०

११) जगदुल्ला,    डोल्पा            ६४०

१२) सिजा गाँउपालिका, जुम्ला       १५४५

१३) खार्पूनाथ, हुम्ला           ६६१

१४) छाँयानाथ, मुगु             १३११

१५) बारेकोट, जाजरकोट      ७३३