मानसरोवर माविमा विव्यस गठन , अध्यक्षमा मन बहादुर रोकाया

सिमकोट । सिमकोट गाउँपालिका–६ स्थित मानसरोवर माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठन गरिएको छ। शुक्रबार सम्पन्न अभिभावकहरूको भेलाले मन बहादुर रोकायालाई सर्वसम्मत रूपमा समितिको अध्यक्ष चयन गरेको हो।

समितिको सदस्यमा शंकर बोहोरा, भृकुटी रावत र राजमता रोकाया (भण्डारी) चयन भएका छन्। सबै सदस्यहरूको मनोनयन अभिभावकहरूको सर्वसम्मत सहमतिमा भएको हो, जसले विद्यालयमा साझा नेतृत्व र पारदर्शिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, विद्यालयको शिक्षक–अभिभावक संघको समिति पनि गठन गरिएको छ। धनमल रोकायालाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरिएको हो। सात सदस्यीय उक्त समितिमा काली बहादुर रावत, शेरमा सुनार, धनदेवी बिक, सुर्य सुनार, बसुम रोकाया र सुरज सुनार सदस्य रहेका छन्।

गाउँपालिकाले आफ्नो कार्यतालिकाअनुसार साउन ४ गतेभित्र सबै विद्यालयहरूमा वि.व्य.स. तथा शिक्षक–अभिभावक संघ गठन गरी शिक्षा शाखामा नामावली बुझाउन निर्देशन दिएको थियो। यसअनुसार, मानसरोवर मावि आज समिति गठन सम्पन्न गरेको छ। नयाँ समिति गाउँ शिक्षा ऐन, २०७८ को दफा १३ को उपदफा १ र ७ अनुसार गठन गरिएको हो।