देउडा पर्व कर्णालीमा भव्य रूपमा मनाइयो

सिमकोट। कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा देउडा पर्व भव्यताका साथ मनाइएको छ। प्रदेश सरकारले साउन १ गतेलाई देउडा दिवस घोषणा गरेसँगै यो पर्व औपचारिक रूपमा मनाउन थालिएको हो।

कर्णालीका १० वटै जिल्लामध्ये विशेष गरी हुम्ला, मुगु, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट र सुर्खेतका सदरमुकामहरूमा देउडा पर्व धूमधामका साथ मनाउने गरिएको छ। यसै सन्दर्भमा आज सुर्खेतको खुलामञ्च र हुम्लाको सिमकोट सिमसारमा देउडा दिवस विशेष उत्सवका साथ मनाइएको थियो।

देउडा कर्णाली प्रदेशको मौलिक लोकसंस्कृतिको अभिन्न अंग हो। यहाँका ज्येष्ठ नागरिकदेखि युवा पुस्ता र बालबालिकासमेत देउडामा उत्साहपूर्वक सहभागी हुने गर्दछन्। छोराको छैटी, व्रतबन्ध, विवाहजस्ता संस्कारदेखि लिएर देवताको पूजा–पाठसम्म देउडा दोहोरी खेल्ने परम्परा यहाँको संस्कृतिमा गहिरो रूपमा बसेको छ।

सांस्कृतिक कार्यक्रमहरूमा देउडा पहिलो प्रस्तुति र दर्शकहरूको रोजाइ बन्ने गरेको छ। यसको सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै प्रदेश सरकारले केही वर्षदेखि साउन १ गतेलाई ‘देउडा पर्व तथा साउने संक्रान्ति’ को अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ।