वीरेन्द्रनगरमा ट्राफिक लाइट सञ्चालन, सडक सुरक्षामा प्रविधिमैत्री पहल

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग गर्दै ट्राफिक व्यवस्थापनमा नयाँ अध्यायको सुरुवात गरेको छ। केही दिन पहिलेबाट वीरेन्द्रचोकमा सञ्चालित लाइट बुधवार उद्घाटन गरिएको हो।

यो पहल नगरपालिकाको तर्फबाट सडक सुरक्षामा प्रविधिको पहिलो प्रयोग हो। ट्राफिक लाइटको नियमित सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी जिल्ला ट्राफिक कार्यालय, सुर्खेतलाई हस्तान्तरण गरिएको छ। जिम्मेवारी हस्तान्तरण गर्दै नगर प्रमुख मोहनमाया ढकालले मुख्य सडकमा सवारी व्यवस्थापन सुधार गर्नुका साथै पैदलयात्रीको सुरक्षामा ध्यान दिने उद्देश्यले यो कदम चालिएको बताइन्। जसले सवारी चाप नियन्त्रण र सडक दुर्घटनाको जोखिम कम गर्नेछ।

नगरपालिकाले आगामी दिनहरूमा अन्य व्यस्त चोक र सडकहरूमा पनि ट्राफिक लाइट विस्तार गर्ने तयारी गरिरहेको छ। साथै, यहीँ वर्षबाट मंगलगढी चौकमा आकाशे पुल निर्माणको काम सुरु गरिएको जानकारीसमेत प्रमुख ढकालले दिइन्।