पुल उद्घाटन गर्न आएका प्रधानमन्त्री ओली सुर्खेतमा, मौसम खुलेपछि हुम्ला जाने

सुर्खेत । हुम्लाको खार्पुनदीमा निर्माण भएको बेलिब्रिज पुल उद्घाटन गर्न हुम्ला जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत पुगेका छन् । खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर उड्न नसकेपछि सुर्खेतमा अवतरण भएको हो।

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, एमाले उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीलगायत उच्चस्तरीय प्रतिनिधिमण्डल सुर्खेत पुगेका छन्। उनीहरू नेपाली सेनाको उत्तर–पश्चिम पृतना मुख्यालयमा बसेका छन्।

सुर्खेतमा निरन्तर वर्षाका कारण हवाई उडान प्रभावित भएको छ। मौसम अनुकूल भएपछि प्रधानमन्त्री टोली हुम्ला प्रस्थान गर्ने तयारीमा रहेको नेपाली सेनाले जानकारी दिएको छ।

२६ वर्षपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट पहिलोपटक राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। ४ करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त बेलिब्रिज नेपाली सेनाले ४० दिनमै सम्पन्न गरेको हो।

उद्घाटन कार्यक्रमका लागि प्रधानमन्त्रीसँगै संघीय मन्त्रीहरू, कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, प्रधानसेनापति प्रभुराज रेग्मी, पूर्वाधार सचिव केशव कुमार शर्मा लगायत १८ सदस्यीय टोली हुम्ला जान लागेको हो।