जनता जागरुक र सचेत हुनुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनता जागरुक र सचेत भएपछि मात्रै मुलुकको समुन्नति सम्भव हुने बताएका छन् । विकासको मूल आधार जनचेतना भएको उल्लेख गर्दै, जनताको सक्रिय सहभागिता बिना कुनै पनि योजना सफल नहुने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

आज वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ मा आयोजित स्थानीयवासीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले राज्यले योजना बनाएर मात्र विकास हुने नभई त्यसको कार्यान्वयनमा जनताको प्रत्यक्ष संलग्नता आवश्यक रहेको बताए । उनले भने, “रातो किताबमा योजना आएर मात्रै पर्याप्त हुँदैन, जबसम्म जनताले त्यसको निगरानी, साथ र सहभागितामा उत्रदैनन्, तबसम्म विकासको गति अपेक्षितरूपमा अगाडि बढ्दैन ।”

जनताले विकास निर्माणका विषयमा सजग भई योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा निगरानी गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो । मुख्यमन्त्री कँडेलले भने  “राजनीतिज्ञ, कर्मचारी र जनप्रतिनिधिसँगै अब जनता पनि प्रत्यक्ष रुपमा विकास प्रक्रियाको हिस्सा बन्नुपर्छ,” सरकारको प्राथमिकता स्थानीय आवश्यकता, क्षमता र जनअपेक्षाअनुसार हुने मुख्यमन्त्री कँडेलले स्पष्ट पारे।