रास्वपाको हस्ताक्षर अभियान हुम्लामा पनि सञ्चालन

सिमकोट । राष्ट्रिय स्वतन्त्र पार्टीको हस्ताक्षर अभियान हिमाली जिल्ला हुम्लामा पनि चलिरहेको छ। जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट बजारबाट अभियान चलेको हो।

पार्टी सभापति रवि लामिछाने माथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियान देशै भरी चलिरहेको छ। त्यसै अनुरुप पार्टी कार्यालय रहेको सिमकोट बजारमा अभियान चलाएको रास्वपा हुम्लाका नेता लक्ष्मण ऐडिले जानकारी दिए। उनका अनुसार, “७ गतेबाट सुरु भएको अभियानमा हाल सम्म १ सय ८० जनाले हस्ताक्षर गरिसकेको र आउने क्रम जारी छ। स्थानीय व्यवसायी, विद्यार्थी तथा सर्वसाधाहरुले हस्ताक्षर गरेका छन्। हामीले कसैलाई पनि जबरजस्ती बोलाएर हस्ताक्षर गर्न लगाएका छैनौ, आफ्नो ईच्छाले नै अहिले सम्म आउनु भएको छ ।”

राम्रो सँग सङ्गठन विस्तार हुन नसकेको यस जिल्लामा पनि हस्ताक्षर अभियानले भने राम्रो साथ पाएको पाईन्छ। भने पार्टिको प्रचारप्रसार हुनुका साथै युवाहरुमा रवि लामिछानेप्रति सकारात्मक प्रभाव पारेको ऐडिले बताए । जिल्ला भरीका पालिकामा पार्टी संगठन निर्माण सशक्त रुपमा विस्तार नभए पनि यहाँका जनताहरुमा पार्टीप्रति आकर्षण बढ्दै गएको अर्का नेता बुध बुढाले बताएका छन।

यस जिल्लाबाट ०७९ को संघिय चुनावमा १ सय ७० बढी समानुपातिक मत पाएको रास्वपाले यो अभियानबाट आगामी निर्वाचनमा प्रत्यक्ष उम्मेदवार नउभिए पनि समानुपातिक मतमा भने उल्लेखनीय वृद्धि हुने सम्भावना देखिएको छ।

रास्वपाले रवि लामिछाने माथि भएको राजनैतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियान पार्टीको स्थापना दिवस (असार ७) बाट देश तथा विदेशभर सञ्चालन गरेको छ।