हुम्लामा एसईई नतिजा पाेहाेरभन्दा केहि सुधार : कुन पालिकामा कति ?

सिमकोट । हुम्ला जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा गत वर्षभन्दा केहि सुधार भएको छ । अघिल्लो वर्ष ४९ दशमलव ६३ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ५१ दशमलव ६० प्रतिशत पुगेको छ ।

यसअनुसार गत वर्षभन्दा अहिले १ दशमलव ९७ प्रतिशतले सुधार भएको जिल्ला शिक्षा समन्वय ईकाई निमित्त प्रमुख योगेश आले मगरले बताएका छन् । उनका अनुसार, नियमित परीक्षामा सहभागी भएका ९ सय ३६ परीक्षार्थीमध्ये ४ सय ८३ उत्तीर्ण भएका छन् भने ४ सय ५३ जना अनुत्तीर्ण भएको पाईन्छ।जसमा, ३.६ देखि ४ जीपीए २० जना, ३.२ देखि ३.६ जीपीएसम्म ८९ जना , २.८ देखि ३.२ जीपीएसम्म २ सय २१ जना, २.४ देखि २.८ जीपीएसम्म १ सय ५० जना र  २ देखि २.४ सम्म ल्याउने ३ जना छन् ।

एसईई नतिजा कुन गाउँपालिकामा कस्तो छ

सात वटा गाउँपालिका रहेको यस जिल्लामा कुल २७ वटा माध्यमिक विद्यालय छन्। जसमा, नाम्खा गाउँपालिकामा १ मावि, सिमकोटमा ७, खार्पुनाथमा ५, सर्केगाडमा ४, चङ्खेलीमा २, अदानचुलीमा ४ र ताजाकोटमा ४ मा.वि रहेको प्रमुख मगरले जानकारी दिए।

नाम्खा गाउँपालिकाबाट कुल ३८ परिक्षार्थी सहभागि भएकोमा २१ जना उत्तीर्ण हुदा १७ जना अनुत्तीर्ण, सिमकोटबाट १ सय ९५ सहभागी भएकोमा ५१ जना उत्तीर्ण हुदा १ सय ४४ विद्यार्थी अनुत्तीर्ण र खार्पुनाथबाट ८८ परिक्षार्थी सहभागी भएकोमा २५ उत्तिर्ण हुदा ६३ जना अनुत्तीर्ण भएका छन्। यता, सर्केगाड गाउँपालिकामा २ सय १४ जना सहभागी परिक्षार्थीमा १ सय ७७ जना उत्तिर्ण हुदा ३७ अनुत्तीर्ण, चङ्खेलीमा ४४ सहभागिमा ४३ जना उत्तीर्ण र १ जना अनुत्तीर्ण भएको नि. प्रमुख बताए।

भने, अदानचुली गाउँपालिकाबाट १ सय ९० परिक्षार्थी सहभागी भएकोमा ७८ जना उत्तीर्ण हुदा १ सय १२ जना अनुत्तीर्ण र ताजाकोटबाट ८८ जना सहभागी भएकोमा ४४ जना उत्तीर्ण, ४४ जना परिक्षार्थी अनुत्तीर्ण भएका छन्।

यसरी समग्रमा हेर्दा, जिल्लामा सबैभन्दा बढी चङ्खेली गाउँपालिकाबाट उत्तीर्ण भएका छन् भने सबैभन्दा कम सिमकोट गाउँपालिकाबाट उत्तीर्ण भएको पाईन्छ।

जिल्लाको उत्कृष्ट जिपिए ल्याउने साधारणतर्फ ज्ञानोदय मावि अदानचुलीका कमल महतारा (३.९५) रहेका छन् भने प्राविधिकतर्फ चन्द्रप्रकाश मावि ताजाकोटबाट बन्धना देवकोटा (३.५१) रहेकि छन्।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा प्राविधिक धारतर्फ ८९ र साधारणतर्फ ८ सय ४७ विद्यार्थी सहभागी भएका थिए ।