हुम्लाका ६ स्थानिय तहले ल्याए बजेट, कुनमा कति ?

सिमकोट । हुम्ला जिल्लाका सात स्थानिय तह मध्ये ६ स्थानीय तहहरूले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । चङ्खेली गाउँपालिका बाहेक अन्य ६ पालिकाले असार १० र ११ गते सार्वजनिक गरेका हुन्।

सबै पालिकाको सार्वजनिक बजेटहरू पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा बढी केन्द्रित छ । सबैभन्दा ठूलो बजेट सिमकोट गाउँपालिकाले प्रस्तुत गरेको छ । उपाध्यक्ष सुशिला रोकायाले ११ औं गाउँसभामा कुल ६४ करोड ३६ लाख ७९ हजार २ सय ३ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । आर्थिक बिकास, सामाजिक बिकास, पुर्वाधार बिकास, सुशासन संगठन तथा बाताबरण र कार्यालय सञ्चालन तथा प्रशासनिक शिर्षकमा बिनियोजित बजेटमा २४ करोड ८ लाख ६९ हजार २ सय ३ पूँजीगत खर्च ४० करोड २८ लाख १ हजार २ सय ३ चालू खर्च विनियोजन गरिएको छ । जबकि आ.व २०८१/०८२ मा कुल बजेट ४९ करोड २८ लाख ४५ हजार रहेको थियो। त्यसमा पुँजीगत तर्फ १६ करोड ४८लाख २५ हजार र चालुतर्फ ३२ करोड ४८ लाख २० हजार रकम विनियोजन भएको थियो।

त्यसैगरी, सर्केगाड गाउँपालिकाले ५६ करोड ८३ लाख २९ हजार ६ सय ९२ रुपैयाँको बजेट ल्याएको छ । त्यसमध्ये ३७ करोड ३३ लाख ७० हजार ६ सय ९२ चालुतर्फ र १९ करोड ४९ लाख ५९ हजार पुँजीगत खर्च रहेको छ । भने खार्पुनाथ गाउँपालिकाको कुल ४७ करोड ६५ लाख ४ सय ९९ रुपैयाँ मध्ये चालुतर्फ २७ करोड ८३ लाख ५ हजार २ सय ६१ र पूँजीगततर्फ १९ करोड ८१ लाख ९५ हजार २ सय ३८ रकम विनियोजन गरेको छ। यस पालिकाको अघिल्लो आ.वमा ३७ करोड ९२ लाख ७६ हजार कुल बजेट थियो भने चालुतर्फ, २५ करोड २३ लाख ४० हजार र पूँजीगततर्फ १२ करोड ६९ लाख ३६ हजार रुपैयाँ विनियोजन भएको देखिन्छ।

नाम्खा गाउँपालिकाको १३ औं गाउँसभाले ३७ करोड ६८ लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । यता, ताजाकोट गाउँपालिकाले ३६ करोड १५ लाख ९३ हजार ९ सय २५ रुपैयाँ विनियोजन गरेको हो। त्यसमध्ये, चालुतर्फ, १८ करोड २३ लाख ९३ हजार ९ सय २५ र पूँजीगत तर्फ १७ करोड ९१ लाख ९९ हजार बजेट ल्याएको छ । अघिल्लो आ.व मा कुल ३८ करोड ७२ लाख २४ हजार रुपैयाँ बजेटमा चालुतर्फ १६ करोड ६५ लाख २० हजार र पूँजीगत तर्फ २२ करोड ७ लाख ३ हजार रुपैयाँ बजेट ल्याएको थियो।

अदानचुली गाउँपालिकाको १३ औं गाउँसभाले ३४ करोड ३७लाख ९९ हजार ७ सय २३ मा चालुतर्फ २२ करोड १५ लाख ९५ हजार ७ सय २३ र पूँजीगत तर्फ १२ करोड २२ लाख ४ हजार ४ बजेट बिनियोजन गरेको छ।

यसरी हुम्लाका यी सबै गाउँपालिकाको बजेटमा संघीय र प्रदेश सरकारको अनुदान प्रमुख स्रोत रहेको छ ।