हुम्ला हुँदै कैलाश यात्रा: एकैदिन १४ उडान, तीर्थयात्रीको भीड

हुम्ला । प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर यात्राका लागि हुम्ला हुँदै जाने भारतीय तीर्थयात्रीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलमा बुधवार मात्रै १ सय ५० यात्रुहरू पुगेका हुन् ।

निजी एयरलाइन्सहरू सीता, समिट र ताराले एकै दिन १४ वटा उडानमार्फत उक्त यात्रु सिमकोट पुर्याएका हुन्। सिमकोट विमानस्थलका अनुसार ती सबै उडानमा विदेशी यात्रु, विशेषतः भारतीय तीर्थयात्री, सवार थिए। सडक सञ्जालसँग नजोडिएको हुम्लामा पछिल्लो केही दिन यता हवाई मार्फत यात्रुहरुको भिड लाग्ने गरेको छ।

असार २ गते देखि हालसम्मको एक सातामा मात्र ३ सय ६२ जना भारतीय तीर्थयात्री हुम्ला आइपुगेका छन्। काठमाण्डौँ-केरुङ मार्गको विकल्पको रूपमा हुम्ला-हिल्सा मार्ग छिटो र सहज मानिएकाले यहाँको प्रयोग बढ्दो छ। राजस्व संकलक प्रमुख दीपेन्द्र भण्डारीका अनुसार सिमकोट गाउँपालिकाले भारतीय पर्यटकबाट प्रति व्यक्ति १ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिरहेको छ ।

तीर्थयात्री सिमकोट पुगेर त्यसपछि हेलिकोप्टर र गाडी दुवै माध्यममार्फत चीनको सीमावर्ती क्षेत्र हिल्सा हुँदै कैलाश मानसरोवरतर्फ लाग्ने गर्छन्। एकै दिनमा सिमकोटदेखि हिल्सा पुग्न सकिने भएकाले पनि यो मार्ग सुविधाजनक भएको भण्डारी बताउछन्। पछिल्लो समय कोही कोही विदेशी नागरिकहरु मोटर बाटो हुँदै जिल्ला भित्रिएको पनि पाईन्छ । यसरी दुवै बाटोबाट भित्रीने यात्रुहरू प्रायः सिमकोटमा एक रात बिताएर अर्को दिन कैलाशतर्फ लाग्ने गरेका छन्।

कोरोना महामारी पछि ठप्प भएको यो यात्रा पुन अघिल्लो वर्ष बाट सुचारु भएको छ। गत वर्षको तुलनामा यस वर्ष कैलाश मानसरोवर यात्राका लागि हुम्ला मार्ग प्रयोग गर्ने पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ। हवाई मार्गमार्फत हुम्ला पुग्ने र त्यहाँबाट चीनतर्फ यात्रा गर्ने क्रम बढ्दै गएका कारण सिमकोट विमानस्थल व्यस्त बन्दै गएको छ। यो यात्रामार्ग हुम्लाको पर्यटन र अर्थतन्त्रका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।