“नरहरिनाथको नीति तथा कार्यक्रम सार्वजनिक : रोजगारी, पूर्वाधार, स्वास्थ्य र प्रविधिमा जोड”।

कालिकोट,चन्द्र प्रसाद भट्टराई। स्थानिय सरकारको जिम्मेवारी, मिशन रोजगारी, सरोकारवाला सबैको साझेदारी,भन्ने मुलनारा सहित नरहरिनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १० गते गाउँ सभाको १७ औं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नरहरिनाथ गाउँपालिकाकाे नाम समेत संशाेधन गरि याेगि नरहरिनाथ गाउँपालिका बनाउनका लागि प्रदेश सरकार र संघिय सरकार सँघ आबश्यक समन्वय गर्ने,पालिकालाई नगरपालिका बनाउनका लागि आवश्यक पहल गर्ने समेत नीति नथा कार्यक्रममा समावेश गरेकाे छ। गाउँपालिकाले “स्थानीय तहको जिम्मेवारी, मिशन रोजगारी, सरोकारवाल सबैको साझेदारी” कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रमा समावेश गरिएकाे छ।

पालिकाको सडक गुरुयोजना निर्माण गरी गाउँपालिका भित्र भएका सम्पुर्ण पूर्वाधारहरुको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण संकलन गर्ने, गाउँपालिकाको निर्माणाधिन अवस्थामा रहेको रिङ्गरोडको कार्यलाई तीब्ररुपमा अगाडि बढाई सबै वडा तथा गाउँ वस्तीलाई पालिका संग जोडिनेछ साथै गाउँपालिका बासिहरुलाई निरन्तर रुपमा सहज यातायातको पहुँचमा पुर्‍याउन, सडक निर्माण तथा सुधारका कार्यहरु छिटोछरितो गर्नका लागि सडक एम्बुलेन्सलाई निरन्तरता दिइने छ, गाउँपालिका बासिहरुलाई गुणस्तर स्वास्थ्य सेवा प्रवाह गर्नका लागि संघीय सरकारको १५ सैयाको अस्पताल निर्माण गर्ने अवधारणा अनुरुप प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँलाई योगी नरहरिनाथ आधारभूत अस्पताल घोषणा गरिसकेको हुदाँ भौतिक पूर्वाधार निर्माण गर्नका लागि संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँग आवश्यक समन्वय तथा सहजिकरण गरि ‍यसै आर्थिक बर्ष भित्र ठेक्का प्रक्रिया अगाडी बढाइने समेत नीति तथा कार्यक्रममा समावेश गरिएकाे छ ।

साथै,नरहरिनाथ गाउँपालिका बासिहरुलाई विद्युतको पहुँच पुगेका वडाहरुमा थप विस्तार गरिने र बाकिँ रहेका वडाका टोल बस्तिहरुमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरि विद्युत जडानका लागि आवश्यक पहल गरिने, गाउँपालिका वडा नं. १,२,३ र गाउँपालिकाको केन्द्र कुमालगाउँमा अप्टिकल फाइबर ईन्टरनेट पुगिसकेको र बाकिँ रहेका वडा तथा सरकारी कार्यालयहरुमा आगामी आर्थिक बर्ष २०८२/०८३ मा अप्टिकल फाइबर ईन्टरनेट जडान तथा विस्तार गर्नका लागि आवश्यक पहल गर्ने,आगामी आर्थकि बर्ष २०८२/८३ को साउन महिना देखि खरिद गरिएका विभिन्न सफ्टवयेर (दर्ता चलानी, योजना तथा कार्यक्रम व्यवस्थापन सम्झौता प्रणाली, बैठक प्रणाली, मासिक प्रगति प्रतिवेदन प्रणाली, जेष्ठ नागरिक/अपाङ्ग व्यक्ति विवरण अभिलेख प्रणाली) सञ्चालनका गर्नका लागि आवश्यक बजेट विनियोजन गरि सूचना प्रविधि सम्बन्धी वडा सचिव र शाखा प्रमुखहरुलाई क्षमता विकास तालिमको व्यवस्था गरि पूर्ण रुपमा सञ्चालनमा ल्याइने बताएका छन्।

पालिकाकाे नीति तथा कार्यक्रमा गाउँपालिकाको पदाधिकारी र कर्मचारीहरुको आचरण, क्रियाकलापहरु जनभावना अनुकुल गर्न गराउन पदाधिकारीहरुको आचारसंहिता र कर्मचारीको पेशागत आचारसंहिता तयार गरि पुर्ण रुपमा कार्यान्वयन गर्ने, योगदनमा आधारीत सामजिक सुरक्षा कोषमा करार कर्मचारी तथा ज्यालादारी श्रमिकहरुलाई आवद्ध गर्ने,जनयुद्ध जनआन्दोलन सहिद तथा घाईते अपाङ्गता भएका घरपरिवारहरुलाई आयआर्जन तथा सीपमुलक कार्यक्रम संचालन गरिनुका साथै उक्त परिवारहरूलाइ सम्मान गर्ने, शिक्षा क्षेत्रमा विद्यालयहरुलाई थप व्यवस्थित वनाउका लागि नन्दादेवी मा.वि कोटवाडा, रमा मा.वि कालाशिल्‍ला, जनता मा.वि रुप्सा, शान्ति मा.वि रातिमाटा, नन्दादेवी मा.वि. सेरापाटा र जनप्रभात मा.वि. लालको गुरूयोजना तयार गर्ने समावेश गरिएको छ।

नरहरिनाथ गाउँपालिका बासीहरुलाई एक घर एक धारा कार्यक्रम अन्तर्गत बाकिँ रहेका घरधुरीहरुलाई स्वच्छ खानेपानीको प्रार्याप्त आपुर्तिका गर्नका लागि संघिय सरकार, प्रदेश सरकार र गैरसरकारी सेवा प्रदाय संस्थाहरुसँग सहकार्य गरि स्वच्छ खानेपानीको व्यवस्था गर्ने, कृषि तथा कृषि जन्य पदार्थलाई बजारीकरण गर्न खाद्य संस्थान सँग र नागरिकहरुलाई घरआगनमै नुनको सेवा उपलब्ध गराउनका लागी साल्ट ट्रेडिङ्ग लिमिटेड संग समन्वय गरि यसै आर्थिक बर्ष भित्र सेवा संचालनमा ल्याउने, गाउँपालिकाको केन्द्र कुमालगाउँ, सैनेखोला रुप्सा र सर्गा रुप्सा सडक खण्डमा रहेको कडा चट्टान भागलाई विस्फोट गर्न नेपाली सेना सँग समन्वय तथा सहजिकरण भई कडा चट्टान बिस्फोट गर्ने आवश्यक प्रक्रियामा अगाडि बढाईने,विपन्न नागरिक सँग अध्यक्ष कार्यक्रम र कृषक सँग उपाध्यक्ष कार्यक्रमलाई चालु आ.ब झै आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिने उल्लेख छ।

पालिकाकाे नीति तथा कार्यक्रममा गाउँपालिका अन्तर्गत सञ्‍चालनमा रहेका संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त भएका समपुरक र विशेष अनुदान बहुवर्षिय र स्रोत सुनिश्चितता प्राप्त योजनाहरु सम्पन्न हुने गरी प्राथमिकताका आधारमा रकम विनियोजन गरेर मात्र नयाँ योजनाहरुमा रकम विनियोजन गरिने, गाँउपालिका रहेको व्याप्त बेरोजगारीलाई कम गर्न र आन्तरीक रोजगारी सिर्जना गर्न नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा सञ्चालित राष्ट्रिय रोजगार पवर्द्धन कार्यक्रम संञ्चालन र कर्णाली प्रदेश सरकारद्धारा सञ्चालित मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई प्रभावकारी तथा थप रोजगारी सिर्जना गर्नका लागि प्राप्त साझेदारी बजेटको व्यस्था गरिने छ।

गाउँपालिकामा आवश्यकतताको आधारमा झोलुङ्गे पुल निर्माण गर्नका लागि विकास साझेदार संघ संस्थाहरु सँग आवश्यक समन्वय तथा साझेदारीका कार्यक्रमहरुलाई निरन्तरता दिने,सामुदायिक बिउ बैकं तथा जैविक कृषि प्रवर्द्वन कार्यक्रम मार्फत स्थानीय, रैथाने तथा उन्नत जातका कृषि बालीवस्तुको बीउ संकलन तथा संरक्षण गरी उत्पादन वृद्वि गरिने, प्रत्येक बर्ष चैत्र २६ गतेलाई स्थानीय शहिद दिवसको उपलक्ष्यमा स्थानीय विदा दिने समेत पालिकाकाे नीति तथा कार्यक्रममा समावेश गरिएकाे छ।
नरहरिनाथ गाउँपालिका उपा अध्यक्ष कमल कुमार शाहले आर्थिक बर्ष २०८२/०८३ का लागि ५१ कराेड८३ लाख ८० हजार ५०० रुपैयाकाे अनुमानित बजेट प्रस्तुत गरेका छन्।