आगलागी पीडितलाई सिटिजन्स बैंकद्वारा आपतकालीन राहत वितरण

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–३, उनापानी गाउँमा आगलागीबाट प्रभावित परिवारलाई आपतकालीन राहत सामाग्री वितरण गरेको छ। सिटिजन्स बैंक लिमिटेड शाखा कार्यालय सर्केगाडले उक्त सामग्री वितरण गरेको छ।

बैंकले आर्थिक वर्ष २०८१/८२ को संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत सोमबार राहत वितरण गरेको हो। आगलागी पीडित प्रत्येक परिवारलाई एक बोरा चामल, एक बोरा मैदा, एक थान प्रेसर कुकर, एक थान डेक्ची, पाँचवटा थाल, पाँचवटा कचौरा, पाँचवटा गिलास, पाँच प्याकेट खानेतेल र एक थान डाडु पनिउ वितरण गरिएको शाखा प्रमुख सुवास भण्डारीले जानकारी दिए।

राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया, उपाध्यक्ष देवकी तिमिल्सिना रोकाया, वडा अध्यक्ष, बैंकका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

गत असार १ गते राति उनापानीको औल गाउँमा भएको आगलागीबाट आठवटा घर पूर्ण रूपमा नष्ट भएका थिए। आगलागी भएको एक साता वितिसक्दा पनि प्रदेश र संघ सरकारले कुनै चासो नदेखाएको भन्दै पीडितले गुनासो गरेका छन्। यद्यपि, स्थानीय सरकार र विभिन्न संघ–संस्थाले दैनिक जीवन चलाउन राहत वितरण गरेका छन्।