नरहरिनाथ गाउँपालिकामा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न..

कालिकोट, चन्द्र प्रसाद भट्टराई। जिल्लाकाे नरहरिनाथ गाउँपालिकाले आज सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न गरेको छ। गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र ,समाजबादि लगायतका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न संघसंस्था, सरकारी निकाय तथा सरोकारवाला पक्षका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।

बैठकमा आर्थिक वर्ष २०८१/०८२ मा पालिकाले सञ्चालन गरेका कार्यक्रमहरूको समग्र समीक्षा गरिएको थियो। बजेटको पारदर्शी र गुणस्तरीय प्रयोग, पूर्वाधार विकासको गति, सेवामूलक कार्यक्रमहरूको प्रभावकारिता, र समावेशी विकासका प्रयासहरूबारे गम्भीर छलफल गरिएको थियो।

कार्यक्रममा अध्यक्ष बिष्टले भने, “हामीले सञ्चालन गरेका विकास कार्यक्रमहरूका उपलब्धि र चुनौतीहरूबारे सरोकारवालासँग प्रत्यक्ष संवाद गर्नु नै लोकतान्त्रिक अभ्यासको मूल आधार हो। सुझावहरूलाई आगामी नीति तथा कार्यक्रममा प्राथमिकता दिइनेछ।”

बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले समावेशी नीति निर्माण, बजेटमा सबै क्षेत्रको सहभागिता, पूर्वाधार निर्माणमा पारदर्शिता, र समन्वययुक्त विकासमा जोड दिनुपर्ने धारणा राखेका थिए। संघसंस्थाका प्रतिनिधिहरूले स्थानिय तहमा साझेदारीमा आधारित कार्यक्रम र दीगो विकासका अवधारणालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए।

बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रम निर्माणमा सहभागी सबै पक्षको योगदान सुनिश्चित गर्न, प्रमुख योजनाहरूलाई प्राथमिकतामा राख्न, र संघसंस्थासँग सहकार्य गरी नरहरिनाथ गाउँपालिकालाई सुशासनयुक्त, उत्तरदायी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भयो।