विद्युतीय बीउ बिजन प्रणाली सम्बन्धी ३ दिने अभिमुखीकरण

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा बीउ बिजन उत्पादन, आपुर्ती तथा व्यवस्थापन निर्देशिका, २०७८ तथा विद्युतीय बीउ बिजन प्रणाली सम्बन्धि ३ दिने अभिमुखीकरण सुरू भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एकीकृत कृषि प्रयोगशालाको आयोजनामा बिहीबारदेखि उक्त कार्यक्रम सुरू भएको हो।

कर्णाली प्रदेश अन्तरगत जिल्ला स्थित कृषि हेर्ने कार्यालय तथा प्रादेशिक बीउ बिजन प्रयोगशालामा कार्यरत कर्मचारी र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई अभिमुखीकरण दिइने प्रयोगशाला प्रमुख चित्रबहादुर रोकायले जानकारी दिए।

उनका अनुसार बिहीबारदेखि सुरू भएको अभिमुखीकरण कार्यक्रम शनिबार सम्म चल्नेछ । कार्यक्रममा कर्णाली प्रदेश अन्तरगत जिल्ला स्थित कृषि हेर्ने कार्यालय तथा प्रादेशिक बीउ बिजन प्रयोगशालामा कार्यरत कर्मचारी र स्थानीय तहमा कार्यरत ५४ भन्दा बढी कर्मचारीहरुको सहभागीता रहेको प्रमुख रोकायले बताए। यसले तीन वटै तहका सरकारलाई एक आपसमा जोड्नका लागि सहयोग गर्नेछ।

यस्तै, कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरेका छन्। उद्घाटन सत्रमा बोल्दै मन्त्री शाहले अभिमुखीकरणमा सहभागीहरुलाई अन्तरक्रियात्मक र छलफलमा बढी केन्द्रीत हुन सुझाव दिए।

कर्णाली सरकारले बीउ बिजन ऐन बनाइसकेको र नियमावली बनाउनका लगि सरकार तयार रहेको मन्त्री शाहले बताए। उनले भने, ‘बीउ उत्पादनको हब कर्णाली बनाउन पर्छ। जसले बीउ निर्यात गरि कर्णाली आर्थिक रुपमा सवल बन्न पनि सक्छ। त्यसैले स्वस्थ गुणस्तर युक्त बीउ उत्पादनमा हामिले अभियान चलाउन पर्छ।’

यस्तै, मन्त्री शाहले अभिमुखीकरण कार्यक्रममा सिकेको ज्ञानलाई प्रत्येक सहभागी कर्मचारीहरुले सम्बन्धित क्षेत्रमा लागु गरेर देखाउनु पर्ने बताए। साथै उनले सबैको कार्यक्षेत्र स्थानिय तह भएको तर, स्थानीय तह कृषिका क्षेत्रमा उदासीन रहेको उल्लेख गरे।