हुम्लामा खाद्यान्नको मूल्य घट्यो, चिनी अझै सस्तो हुँदै

सिमकोट। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हुम्लाले खाद्यान्नको मूल्यमा समायोजन गर्दै नयाँ दर सार्वजनिक गरेको छ। सोमबारदेखि लागू हुनेगरी विभिन्न किसिमका चामल तथा चिनीको खुद्रा मूल्य घटाइएको हो।

कम्पनीको विक्री वितरण विभाग, प्रधान कार्यालय काठमाडौंबाट जेठ २८ गते जारी गरिएको निर्देशन अनुसार मूल्य समायोजन गरिएको शाखा प्रमुख कृष्ण बहादुर थापा मगरले जानकारी दिए।

उनका अनुसार, स्टिम जिरा मसिनो चामल तथा सोही किसिमको याफ आर चामलको मूल्यमा प्रतिक्विन्टल ९ हजार रुपैयाँ तोकिएको छ, जुन अघिल्लो मूल्य ९ हजार २ सय रुपैयाँ भन्दा २ सय रुपैयाँले कम हो।

त्यस्तै, सोना मन्सुली वा मध्यम चामल तथा सोही किसिमको याफ आर चामलको नयाँ मूल्य प्रतिक्विन्टल ६ हजार ६ सय रुपैयाँ तोकिएको छ। अघिल्लो मूल्य ७ हजार २ सय रुपैयाँ भएको हुँदा यो चामलमा ६ सय रुपैयाँको घटुवा गरिएको हो।

अरुवा मोटा वा याफ आर अरुवा मोटा चामलको नयाँ मूल्य प्रतिक्विन्टल ६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो ६ हजार ४ सय रुपैयाँको तुलनामा १ सय रुपैयाँ सस्तो हो।

 

यी मूल्यका आधारमा अब स्टिम जिरा मसिनो चामल प्रति बोरा २ हजार २ सय ५० रुपैयाँमा, सोना मन्सुली वा मध्यम चामल प्रति बोरा १ हजार ६ सय ५० रुपैयाँमा र अरुवा मोटा चामल प्रति बोरा १ हजार ५ सय ७५ रुपैयाँमा विक्री गरिनेछ।

चिनीको हकमा पनि समायोजन गरिएको छ। अब चिनी प्रति केजी १ सय २५ रुपैयाँमा विक्री गरिनेछ। अघिल्लो मूल्य १ सय ३५ रुपैयाँ थियो। साथै, असार मसान्तसम्मका लागि चिनीको मूल्य अझ घटाएर प्रति केजी १ सय १५ रुपैयाँ कायम गरिएको प्रमुख थापाले जानकारी दिए।