मध्यरातमा कर्णाली प्रदेश सरकारको करिब ३३ अर्ब बजेट सार्वजनिक(पूर्णपाठ सहित)

सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। मध्यरात बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले बजेट भाषण गर्दै यो विवरण सार्वजनिक गरेका हुन्।

बजेटमा चालु खर्चका लागि ७ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ र पुँजीगत खर्चका लागि १९ अर्ब ९८ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, वित्तीय व्यवस्थापनका लागि ६१ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ भने स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार रुपैयाँ विनियोजन गरिएको छ।

बजेट खर्च धान्नका लागि सरकारले विभिन्न स्रोतबाट राजस्व संकलन गर्ने योजना बनाएको छ। आन्तरिक कर राजस्वबाट ९६ करोड ७४ लाख ११ हजार रुपैयाँ उठाउने लक्ष्य राखिएको छ। त्यसैगरी, संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब २७ करोड ३० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

यता अनुदानतर्फ समानीकरण अनुदानबाट १० अर्ब ५६ करोड ४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ४४ करोड ६० लाख, समपूरक अनुदानबाट ५३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यस बाहेक, प्रदेश सरकारले आन्तरिक स्रोतबाट ५ अर्ब ६९ करोड ६८ लाख ४४ हजार रुपैयाँ संकलन हुने र वैदेशिक सहायता अन्तर्गत १ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा पनि गरेको छ।

प्रदेश सरकारले प्रस्तुत गरेको यो बजेटले कर्णालीको समावेशी विकास, पूर्वाधार विस्तार र सेवा प्रवाहलाई सशक्त बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

कर्णाली प्रदेश  सरकारको आ.व २०८२/०८३ को बजेट (पूर्णपाठ सहित)