जाउँ है पोखरा’ अभियानसहित कर्णालीमा पोखरेली होटल व्यवसायी, पर्यटन प्रवद्र्धनमा जोड

सुर्खेत । पोखराका होटल व्यवसायीहरूले ‘जाउँ है पोखरा’ अभियान लिएर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पर्यटन प्रवद्र्धनको नयाँ शुरुवात गरेका छन्। गण्डकी प्रदेश सरकार तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सञ्चालित अभियानले आन्तरिक पर्यटन विस्तार गर्दै सातै प्रदेशलाई पर्यटनमार्फत जोड्ने उद्देश्य लिएको छ।

होटल संघ पोखराका अध्यक्ष तथा अभियान संयोजक लक्ष्मण सुवेदीको नेतृत्वमा कर्णाली पुगेको टोलीलाई सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग वाणिज्य संघ कर्णालीका अध्यक्ष पदम शाही, र होटल व्यवसायी संघ कर्णालीका अध्यक्ष तप्तबहादुर शाही लगायतले स्वागत गरे।

गत वर्ष फागुनमा पूर्वी नेपालका विभिन्न सहरमा अभियान सञ्चालन गरिसकेका पोखरेली व्यवसायीहरूले योपटक जेठ २९ गतेदेखि असार २ गतेसम्म पश्चिम नेपालका बुटवल, नेपालगञ्ज, सुर्खेत र दाङ (घोराही) लगायतका शहरमा अभियान सञ्चालन गर्दै छन्।

पोखरा–सुर्खेत दुईतर्फी पर्यटन प्रवाहको पहल

अध्यक्ष सुवेदीले कर्णालीका पर्यटन व्यवसायीहरूलाई पनि ‘जाउँ है सुर्खेत’ अभियान लिएर पोखरा जान आग्रह गरे। “सुर्खेतलगायत कर्णालीका थुप्रै रमणीय स्थल छन्, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ,” उनले भने, “पर्यटन प्रवाह दुईतर्फी हुनुपर्छ, ताकि आर्थिक लाभ सबैलाई होस्।”

उनका अनुसार अभियानले पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ लाई सफल बनाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ।

यातायात र पूर्वाधारमा जोड

सुवेदीले पश्चिम नेपालका विभिन्न शहरहरूबाट पोखरा जोड्ने सिधा हवाई उडान र स्तरीय बस सेवा सञ्चालनको आवश्यकता औंल्याउँदै सम्बन्धित निकायहरूलाई सक्रिय पहल गर्न आग्रह गरे। पोखरा र भैरहवामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थलहरूको नियमित र प्रभावकारी सञ्चालनका लागि पनि सरकारी तहमा दबाब सिर्जना गर्न उनले आह्वान गरे।

उनले पोखराको होटल क्षेत्रमा करिब ५ खर्ब रुपैयाँभन्दा बढीको लगानी भएको उल्लेख गर्दै, हाल १,२०० होटलमार्फत ४० हजार बेडको व्यवस्थापन रहेको जानकारी दिए।