सर्केगाड गाउँपालिका–३ का सम्पूर्ण विकास योजना समयमै सम्पन्न।

सर्केगाड, हुम्ला — २०८२ जेष्ठ ३१ गते सर्केगाड गाउँपालिका वडा नं. ३, उनापानी भित्र चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरिएका सम्पूर्ण १२ वटा भौतिक पूर्वाधार विकास योजना सफलतापूर्वक निर्धारित समयमा नै सम्पन्न भएका छन्। वडाका अनुसार यो उपलब्धि स्थानीयवासीको सक्रिय सहभागिता, उपभोक्ता समितिको उत्तरदायित्व र वडाको इमानदार नेतृत्वको प्रतिफल हो।

यस वर्ष सम्पन्न भएका योजनाहरू शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि सिँचाइ, सडक तथा धार्मिक संरचनाको संरक्षणमा केन्द्रित थिए। निम्न योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिएका छन्:

१. स्यालतडी सिँचाइ कुलो निर्माण
२. जिउला तटबन्ध निर्माण
३. तातोपानी सिँढी निर्माण
४. निच्चाखौला गोरेटो बाटो निर्माण
५. उनापानी आधारभूत अस्पताल घेराबार
६. देवकोटा आधारभूत विद्यालय घेराबार
७. देवकोटा विद्यालयमा एक कोठे भवन निर्माण
८. वडा कार्यालय मर्मत तथा फिनिसिङ
९. औलसर्की मन्दिर निर्माण
१०. शिव मन्दिर ग्याबिन पर्खाल निर्माण
११. गुँसा सडक निर्माण
१२. बाँचौर बिउवार सडक निर्माण

वडा अध्यक्ष अकिल बहादुर कार्कीले भन्नुभयो, “हाम्रो पहिलो प्राथमिकता जनताको आधारभूत आवश्यकता पूरा गर्नु हो। योजनाहरू समयमा सम्पन्न हुनु हाम्रो प्रतिबद्धता र जनताको सहभागिताको प्रमाण हो। यसले विकासप्रति जनविश्वास बलियो बनाएको छ।”

वडा प्रशासन सहायक कुम्भ फडेराका अनुसार, “योजनाको सुरुआती छनोटदेखि कार्यान्वयनसम्म पारदर्शिता र गुणस्तरमा विशेष ध्यान दिइएको थियो। त्यसैले कुनै पनि योजना अलपत्र परेन र सबै काम समयमै सम्पन्न भए।”

स्थानीय बासिन्दा काला कामीले भने, “पहिले योजना सुरु त हुन्थे तर ढिलासुस्ती गर्थे। अहिले त सबै काम समयमै भयो, हामी एकदम खुसी छौं।”

सक्रिय समन्वय, स्पष्ट कार्ययोजना र जनताको ऐक्यबद्धताका कारण सर्केगाड गाउँपालिका वडा नं. ३ ले उदाहरणीय कार्यसम्पादन गर्दै सबै विकास योजनाहरू सम्पन्न गरेको छ। वडाले आगामी वर्षहरूमा थप जनमुखी र दिगो योजनाहरू ल्याउने तयारी गरेको जनाएको छ।