जन्मदिनको अवसरमा शैक्षिक क्षेत्रलाई लक्षित गर्दै बिष्टले गरे पुरस्कार घोषणा

सुर्खेत, चन्द्र प्रसाद भट्टराई। जन्मदिनको अवसरमा सान्नी त्रिवेणी गाउँपालिकाका वडा न.२ मा जन्मिएका गणेश बिष्टले शैक्षिक क्षेत्रलाई लक्षित गर्दै पुरस्कार दिने घोषणा गरेका छन्। जेष्ठ २६ गते ३६ बर्ष पुगेकाे अबसरमा समाजसेवीभावले सामाजिक सञ्जालमार्फत आभार प्रकट गर्दै उक्त क्षेत्रलाई लक्षित गरी पुरस्कारको घोषणा गरेका हुन्।

विगत एक दशक देखि जापान बस्दै आएका उनले विभिन्न समयमा नेपालमा थुप्रै रकम सहयाेग गर्दै आएका छन्।आफ्ना मातापिताप्रति गर्वको भाव व्यक्त गर्दै उनले फेसबुकमार्फत शुभकामना दिने सम्पूर्ण अग्रज, शुभेच्छुक, आफन्त, साथीभाइ र इष्टमित्रप्रति आभार व्यक्त समेत गरेका छन् । उनले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वमा रूपान्तरण गर्दै गाउँपालिकाको शैक्षिक क्षेत्रको प्रोत्साहनका लागि आगामी वर्षदेखि प्रत्येक जन्मदिनको अवसरमा नियमित रुपमा पुरस्कार वितरण गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले वैदेशिक रोजगारीमा रहेका बेला र स्वास्थ्यले साथ दिएको अवस्थामा हरेक वर्ष ५१,००० अक्षेरुपी राशी छुट्याएर उक्त कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

यसैगरी पालिका भरिका माध्यमिक तहबाट एस.ई.ई मा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई ५,००० र कक्षा ८ को पालिकास्तरीय परीक्षामा पहिलो हुने विद्यालयलाई ३,५०० दोस्रोलाई २,५०० र तेस्रो हुने विद्यालयलाई १,५०० रुपैयाँ दिने विष्टले बताए ।

यता एस.ई.ई मा विषयगत रुपमा सय प्रतिशत नतिजा दिने शिक्षकहरू उत्कृष्ट २ जना मध्येलाई पहिलोलाई ४,५०० , दोस्रोलाई ३,००० रुपैया र कक्षा ८ मा विषयगत रुपमा सय प्रतिशत नतिजा दिने शिक्षकहरू उत्कृष्ट २ जनामध्ये पहिलोलाई ४,५०० र दोस्रोलाई ३,००० दिने जनाएका छन्।

भने एस.ई.ई परीक्षामा पालिका भरिका विद्यालयहरूबाट सर्वोत्कृष्ट नतिजा ल्याउने १ जना विद्यार्थीलाई ४,००० र

कक्षा ८ मा पालिका भरिको सर्वोत्कृष्ट विद्यार्थीलाई ३,५०० रुपैँया हौसला स्वरुप पुरस्कार दिने उल्लेख गरेका छन्।

त्यसका साथै, आफूले प्रारम्भिक अध्ययन गरेका श्री मस्टो सरस्वती माध्यमिक विद्यालय र श्री शंकर माध्यमिक विद्यालयका उत्कृष्ट एस.ई.ई विद्यार्थीलाई रु ३,५०० का दरले पुरस्कार दिइनेछ। ती विद्यालयहरूले एस.ई.ई मा ७०% नतिजा हासिल गरेमा रु ४,५०० का दरले सम्मान गरिने जानकारी पनि उनले दिएका छन्।

समाजसेवी बिष्टका अनुसार, “यो पहल विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकप्रति शिक्षामा चासो, हौसला र प्रेरणा प्रदान गर्ने उद्देश्यले गरिएको हो। सकारात्मक सोच र परिवर्तनको सुरुवात हरेक क्षेत्रमा आफैँबाट गरौं,” भन्ने सन्देश पनि उनले दिएका छन्।