सुर्खेत । कर्णाली प्रदेश स्तरिय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ। शिक्षा विकास निर्देशनालय, सुर्खेतको आयोजनामा प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा शुक्रबार सम्पन्न भएको हो।
कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाबाट प्रतिनिधित्व हुने गरी प्रत्येक जिल्लाबाट उत्कृष्ट एक विद्यालयका दुई विद्यार्थी र एक शिक्षक संरक्षक सहभागी भएका थिए। विज्ञान र प्रविधिप्रति विद्यार्थीहरूको रुचि, सृजनशीलता र नवप्रवर्तन क्षमतालाई उजागर गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ।निर्देशनालयले यस किसिमको प्रदर्शनीले विद्यार्थीहरूबीच आपसी सञ्जाल विस्तार, अनुभव आदान–प्रदान र सिकाइको नयाँ आयाम सिर्जना गर्ने अपेक्षा व्यक्त गरेको छ।
प्रदर्शनी कार्यक्रममा हुम्लाको मानसरोवर माविबाट सहभागी सन्तोष शाही र आकाश शाहीले प्रथम स्थान हासिल गरेका छन् । विजेता विद्यालयलाई नगद ३५ हजार रुपैयाँ पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ।
त्यस्तै, दोस्रो स्थान कर्णाली मावि अनामनगर जुम्लाका विद्यार्थी आएका छन् । उनीहरुले ३० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन्। भने तेस्रो स्थानमा सुर्खेतको सिद्दार्थ पाठशालाका विद्यार्थी आएर २५ हजार रुपैयाँ पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेको छ। साथै सान्त्वना पुरस्कारको रुपमा सल्यानको त्रिभुवन जनता मावि लाई २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिएको छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरू, शिक्षकहरुलाई प्रोत्साहनस्वरूप जनही ४ हजार रुपैयाँको नगद पुरस्कार पनि प्रदान गरिएको छ। कार्यक्रममा निर्णायकको भूमिकामा शिक्षाविद् युवक ओली, लोकेन्द्र सुवेदी र नरेन्द्रप्रसाद भट्ट रहेका थिए।
निर्देशनालयका निमित्त निर्देशक दिपा हमालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमकाे प्रमुख अतिथिमा प्रदेशका सामाजिक विकास मन्त्री धनश्याम भण्डारी, विशेष अथितीमा सामाजिक मन्त्रालयका सचिव अर्जुन गाैतम, वरिष्ट शिक्षाविद् धन वहादुर विष्टको रहेको थियो।