सुर्खेत । मानवता प्रवर्द्धनका लागि जिम्मेवार बन्न सबै नियकायलाई सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आव्हान गरेका छन्। सोमबार आयोजित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रमका उक्त आग्रह गरेका हुन्।
स्थानीय तहका पदाधिकारी तथा सरोकारवाहरूमाझ अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि सार्वजनिक सेवा र बस्तु प्रवाहमा प्राथमिकीकरण गर्नुपर्ने बताए ।
कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूले जिम्मेवारपूर्वक काम गरिदिन आग्रह गरे। अपाङ्गता भएका व्यक्तिहरूसँग स्थानीय तहहरू प्रत्यक्ष रूपमा जोडिने भएकोले प्रदेश सरकारले पालिकासँगै साझेदारी गरेको बारे स्पष्ट पारे। बजेट सक्ने मात्रै भन्दा पनि लाभान्वित व्यक्तिहरूलाई अधिकतम लाभ हुनेगरी कार्य गर्न समेत ध्यानाकर्षण गराए।
प्रदेश सरकारले विभिन्न निकायसँगको साझेदारीमा कृतिम अङ्गहरू निर्माण गर्ने र निःशुल्क प्रदान गरिने जानकारी दिए। त्यसका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश हुनेबारे सङ्केत गरे।