अपाङ्गता रोकथाम तथा पुनर्स्थापनाका लागि कर्णालीका १४ स्थानीय तहसँग प्रदेश सरकारको साझेदारी

सुर्खेत। कर्णालीका १४ स्थानीय तहहरूसँग अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमका लागि प्रदेश सरकारले साझेदारी गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त व्यक्तिको उपचार, रोकथाम तथा पुनर्स्थापनाका लागि स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्न लागेको हो।

सोमबार सुर्खेत वीरेन्द्रनगरको शुभहोटलमा कार्यक्रम गर्दै मन्त्रालय र स्थानीय तहहरूबीच साझेदारी गरिएको हो। साझेदारी कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले सबै स्थानीय तहहरूबाट प्रस्तावना आव्हान गरेको थियो। जसमा कर्णालीका ७९ स्थानीय तहमध्ये १४ वटा प्रस्ताव पेश भएको मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले जानकारी दिए।

खड्काका अनुसार सुर्खेतका भेरीगङ्गा र पञ्चपुरी नगरपालिका, चौकुने र सिम्ता गाउँपालिका, कालीकोटको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी र शुभकालिका गाउँपालिका रहेका छन्।

यस्तै, रूकुमपश्चिमको चौरजहारी र मुसीकोट नगरपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, दैलेखको महाबु गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र हुम्लाको सिमिकोट गाउँपालिका रहेका छन्।

उक्त स्थानीय तहहरूमा करिब १० हजार अपाङ्गता भएका व्यक्तिहरू यो कार्यक्रम मार्फत लाभ लिनसक्ने अनुमान गरिएको छ। तर, कार्यक्रम सञ्चालन भने स्थानीय तहहरूले प्रस्ताव गरेअनुरूप हुने जनाइएको छ।

मन्त्रालयद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम कार्यक्रम सञ्चालन हुनेछ। सोही अनुरूप अपाङ्गता रोकथाम तथा सहजीकरण सम्बन्धी कार्यक्रम, अपाङ्गता पहिचान र उपचार, अपाङ्गता भएका व्यक्ति र परिवारको जीवनस्तर सुधार लक्षित कार्यक्रम, संस्थागत सुदृढीकरण लगायतका कार्यक्रमको मुख्य क्रियाकलापहरू समावेश हुनेछन्।

निर्देशिका बमोजिम क्रियाकलाप सञ्चालन गर्न मन्त्रालयले विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय संघ संस्थाहरूसँग प्राविधिक सहकार्य गर्ने सक्ने व्यवस्था बमोजिम करूणा फाउण्डेसन नेपाल, एनएफडी-एन र युनिसेफसँग समन्वय सहकार्य गरिएको मन्त्रालयले जनाएको छ।