कर्णाली सरकारले शुभारम्भ गर्यो ४० कटेकाहरुमा स्वास्थ्य परीक्षण कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सुभारम्भ गरेको छ । ४० वर्ष कटेका प्रदेशभरका नागरिकमा नसर्ने रोगहरुको निशुल्क परिक्षणका साथै उपचार गर्ने उद्देश्यले कार्यक्रमको सुभारम्भ भएको हो ।

आईतबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सुर्खेतको गुर्भाकोट नगरपालिका–१३, स्थित गुमी स्वास्थ्य चौकीबाट उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । शुभारम्भ समारोहमा बोल्दै मन्त्री भण्डारीले १० वटै जिल्लाका सबै स्थानीय तहमा नसर्ने रोगहरुको नियमित परीक्षण तथा उपचार सेवा सुरु भएको बताए । ४० वर्ष माथिको जनसंख्यामा नसर्ने रोगको परीक्षण गर्नुको मुख्य उद्देश्य कर्णालीको समर्ग स्वास्थ्यको अवस्था पत्ता लगाउनु रहेको मन्त्री भण्डारीले बताए । नसर्ने रोगहरुबाट भविष्यमा निम्तिन सक्ने जोखिम न्यूनिकरण गरी स्वस्थ कर्णाली निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको मन्त्री भण्डारीको दावी छ ।

यस्तै, स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक मानकुमारी गुरुङ्गले प्रदेश सरकारद्वारा महत्वका साथ अघि बढाइएको कार्यक्रममा ४० कटेका महिला तथा पुरुषमा नसर्ने रोगको जोखिम कम गर्न स्वास्थ्य परीक्षण प्रभावकारी हुने विश्वास व्यक्त गरिन । नेपालमा नसर्ने रोगहरु दुई तिहाइले बढ्दै गएको उल्लेख गर्नै यसबाट कर्णाली पनि अछुतो नरहेको उनले बताइन । विशेषज्ञ सेवा नपुगेका क्षेत्रका नागरिकको निशुल्क स्वास्थ्य जाँच गरी अवस्था अनुसार उपचारसमेत गरिने गरुङ्गको भनाई छ ।

कार्यक्रम अन्तर्गत प्रयोशाला नभएका स्वास्थ्य संस्थामा नमुना संकलन गरी नजिकका रणनैैतिक तथा आधारभूत अस्पतालमा परीक्षणका लागि पठाइने छ । यस्तै, प्रयोगशाला भएका स्वास्थ्य संस्थामा नमुना परक्षणसँगै कैफियत देखिए उपचार गरिने छ । यस्ता स्वास्थ्य संस्थामा उपचार सम्भव नभए जटिलताका आधारमा सुविधा सम्पन्न अस्पतालमा रेफर गरिने नागरिक स्वास्थ्य परीक्षण कार्यक्रममा फोकल पर्सन किरण शर्माले बताए ।

उनका अनुसार बिरामीको जटिलता हेरेर कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने गरी विशिष्टिकृत अस्पताल तोकिएको छ । कार्यक्रमले उक्तरक्तचाप, मधुमेह, दीर्घ श्वाप्रश्वास, मृगौला सम्बन्धी रोग, क्यान्सरलगायत नसर्ने रोग न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको शर्माले बताए । आईतवारबाट सुरु गरिएको परीक्षण तीन दिन चल्ने छ।