सिमकोट । यो वर्ष कक्षा १२ को परीक्षा आज देखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरुभएको परीक्षा ११ बजे सम्म चलेको थियो।
राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष हुम्लाबाट नियमिततर्फ ५ सय ७९ जना विद्यार्थीले परीक्षा दिन फारम भरेका थिए । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयमा भने ५ सय १७ परीक्षार्थी उपस्थित भएका थिए। यस्तै ६२ परीक्षार्थी अनुपस्थित रहेको जिल्ला शिक्षा समन्वय इकाई निमित्त प्रमुख योगेश आले मगरले जानकारी दिए। नि. प्रमुख मगरका अनुसार २ सय ३५ छात्र र २ सय ८२ छात्रा उपस्थित हुदा २९ छात्र र ३३ छात्रा अनुपस्थित रहेका थिए।
कुन परीक्षा केन्द्रमा कति जना उपस्थित
५ वटा परीक्षा केन्द्र रहेको हुम्लामा मानसरोवर माविबाट ४० छात्र र ५८ छात्रा गरि ९८ जना उपस्थित हुदा ४ छात्र र ६ छात्रा गरि १० जना अनुपस्थित रहेका थिए। त्यस्तै सीता माविबाट २२ छात्र र २४ छात्रा गरि ४६ जना उपस्थित हुदा १ छात्र र २ छात्रा गरि ३ जना अनुपस्थित , हिमज्योति माविबाट ९२ छात्र र ९५ छात्रा गरि १ सय ८७ जना उपस्थित हुदा १२ छात्र र ४ छात्रा गरि १६ जना अनुपस्थित र सुर्योदय माविबाट ३१ छात्र र ४० छात्रा गरि ७१ जना उपस्थित हुदा १ छात्र १ छात्रा गरि २ जना अनुपस्थित रहेको नि प्रमुख मगरले बताए।
भने धर्मोदय माविबाट ५० छात्र र ६५ छात्रा गरि ११५ उपस्थित हुदा ११ छात्र र २० छात्रा गरि ३१ जना परीक्षार्थी अनुपस्थित रहेेका थिए। पहिलो दिनको परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित वातावरणमा सञ्चालन भएको पनि मगरले बताए। भोलि दोस्रो दिन कम्प्युटर विषयको परीक्षा रहेको छ।