पुर्ण खोप सुनिश्चितता पालिका घोषणा हुनेमा सिमकोट दोस्रो

सिमकोट। हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। शनिवार जिल्ला समन्वय समिति हुम्लाको सभाहलमा एक कार्यक्रमका बीच घोषणा गरिएको हो।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नर ब भण्डारीले बताए। निश्चित इन्डिकेटरका आधारमा समन्वय  प्रमुख शिवराज शर्माको प्रमुख अतिथि र गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा घोषणा गरेका हुन्।  

घोषित कार्यक्रममा जिल्लाका ४ जना पत्रकार सम्मानित भएका छन् । जसमा पत्रकार महासंघका अध्यक्ष राजन रावत, रेडियो कैलासका जनक बहादुर शाही, रेडियो कर्णाली आवजका ऐटन रावल र अन्नपूर्णकर्मी नरजन तामाङ रहेका छन् ।

१५ देखि ५९ महिनाका पुर्ण खोप पाएका बालबालिकाहरु आठ वटै वडामा ५ सय ५५ जना रहेका छन । जसमध्ये दोजाम आधारभुत स्वास्थ्य केन्द्रमा १९ बालबालिका, ठेहे स्वास्थ्य चौकीमा ७४ जना, बरगाउँ स्वास्थ्य चौकीमा आठ जना र वुराउसे आधारभुत स्वास्थ्य केन्द्रमा १० रहेका छन् ।

त्यसैगरी जिल्ला अस्पतालमा ७३ , माथिल्लो गाउँ आधारभुत स्वास्थ्य केन्द्रमा २४ , डाडाफया स्वास्थ्य चौकीमा १५४ र स्याडा स्वास्थ्य चौकीमा २०४ जना बालबालिका रहेको स्वास्थ प्रमुख भण्डारीले बताए । भने खोप लिई रहेका जन्मे देखि १५ महिनासम्मका १८४ जना बालबालिका रहेका छन् ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, समन्वय समितिका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि, स्वास्थ शाखाका कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो। जिल्लामा पुर्ण खोप सुनिश्चितता हुने चङ्खेली गाउँपालिका पछि सिमकोट रहेको छ।