Mb Thapa
बैशाख ७, २०८२सर्केगाड गाउँपालिका–३, उनापानीस्थित ऐतिहासिक र धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण “पाठो काट्ने मन्दिर” को भव्य पुनर्निर्माण सम्पन्न भएको छ। परापूर्वकालदेखि न्याय निसाफका लागि खसी बलि दिने परम्पराले परिचित यस मन्दिरको अवस्था विगत केही वर्षदेखि अत्यन्त जिर्ण भइसकेको थियो। छानाको छिद्र, भित्ताको चिरा र थुप्रै संरचनागत कमजोरीले गर्दा मन्दिरको अस्तित्व नै संकटमा परेको थियो।
स्थानीयको गहिरो माग र धार्मिक संवेदनशीलतालाई मध्यनजर गर्दै सर्केगाड गाउँपालिकाबाट विनियोजित ५ लाख रुपैयाँ बजेटमार्फत मन्दिरको पुनर्निर्माण गरिएको हो। मन्दिरको परम्परागत स्वरूपलाई यथासक्य जोगाउँदै, नयाँ संरचनामा बलियो जग, आकर्षक काठे नक्काशी, र आधुनिक सामाग्रीको संयोजन गरिएको छ।
मन्दिरमा विशेषगरी स्थानीय जनविश्वासअनुसार जब कोही अन्यायमा पर्छन्, उनीहरू सत्यको पक्षमा प्रमाण दिनका लागि खसी काट्ने गर्छन्। यो धार्मिक प्रथा न्याय र सत्यको प्रतीक मानिन्छ। यस्तो अनौठो र गहिरो सांस्कृतिक परम्पराले गर्दा मन्दिरको धार्मिक र पर्यटकीय महत्त्व पनि उत्तिकै बढ्दो छ।
वडाध्यक्ष अकिल बहादुर कार्कीले भने, “पाठो काट्ने मन्दिर हाम्रो सांस्कृतिक सम्पदा मात्र होइन, न्यायको प्रतीक हो। परम्पराले बाँधिएको यो स्थानको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो। गाउँपालिकाको तर्फबाट यो मन्दिर पुनर्निर्माण गर्न पाएकोमा म गौरवान्वित छु। यसले धार्मिक आस्थासँगै स्थानीय पर्यटनमा पनि टेवा पुर्याउनेछ।”
पुनर्निर्माणपछि मन्दिरको रूपान्तरण हेर्नका लागि स्थानीय बासिन्दा मात्र नभइ अन्य वडाबाट समेत दर्शनार्थीहरू आउने क्रम बढेको छ। मन्दिर वरपरको वातावरण पनि सफा, व्यवस्थित र शान्त पाराले भरिएको छ, जसले भक्तजनको मन छुने काम गरिरहेको छ।
मन्दिरको पुनर्निर्माणले स्थानीय संस्कार र परम्पराको संरक्षणमा मात्र सीमित नभई भावी पुस्तालाई आफ्नो मौलिक पहिचान बुझ्ने अवसर पनि प्रदान गरेको छ। अब यो स्थल धार्मिक पर्यटनको आकर्षक केन्द्र बन्ने विश्वास गरिएको छ।