तातोपानी धार्मिक स्थलको गुँडो भव्य रूपमा पुनर्निर्माण

सर्केगाड । MB थापा, सर्केगाड गाउँपालिका–३ उनापानीस्थित सुप्रसिद्ध धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थल तातोपानी जाने ऐतिहासिक गुँडोको भव्य पुनर्निर्माण सम्पन्न भएको छ। गत वर्षको अबिरल वर्षातका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको उक्त गुँडोको अवस्थाले स्थानीय बासिन्दा तथा तातोपानी धामका दर्शनार्थीहरूमा गहिरो चिन्ता पैदा गरेको थियो।

तर अहिले त्यो चिन्तालाई समाधान गर्दै वडाले ऐतिहासिक कदम चालेको छ। वडा कार्यालयबाट विनियोजित ३ लाख रुपैयाँको लागतमा गुँडोमा सिडी, प्लास्टर लगायतका संरचनात्मक सुधारहरू गरिएका छन्। साथै, तातोपानीका धार्मिक एवं औषधीय महत्व बोकेका कुन्डहरूको समेत मर्मत सम्भार गरिएको छ।

तातोपानीमा बर्सेनि सयौं श्रद्धालु तथा पर्यटक आउने गरेका छन्। प्राकृतिक रूपमा तातो पानी निस्कने यो स्थानलाई स्थानीयहरूले देवीको वरदान मान्दै आएका छन्। कुन्डहरूको मर्मतपछिको सौन्दर्य र सुविधा अझै आकर्षक बनेको स्थानीयको प्रतिक्रिया छ।

वडाध्यक्ष अकिल बहादुर कार्कीले भने, “तातोपानी हाम्रो गोरव हो। यस धार्मिक र प्राकृतिक सम्पदालाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो। वडाको तर्फबाट सकेसम्म बजेट व्यवस्थापन गरेर गुँडो तथा कुन्डको मर्मत गरेका छौँ। यो कामले श्रद्धालु तथा पर्यटकहरूलाई सहज बनाउनुका साथै स्थानको आकर्षण थप बढाउनेछ।”

यस पुर्ननिर्माण कार्यले धार्मिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने विश्वास लिइएको छ। स्थानीय युवा समूहदेखि बृद्धबृद्धासम्म यो कामप्रति निकै हर्षित छन्। “यो अबको पुस्तालाई हस्तान्तरण गर्न लायक काम हो,” स्थानीय बासिन्दा हिरलाल थापाले भने।