सर्केगाड। हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ मा सञ्चालित दुई महत्त्वपूर्ण पूर्वाधार विकास परियोजनाहरू सन्तोषजनक रूपमा सम्पन्न भएका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको उनापानी आधारभूत स्वास्थ्य चौकीको घेरबार निर्माण तथा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देवकोटा आधारभूत विद्यालयमा दुई कोटे पक्की भवन निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो।
वडाध्यक्ष तथा सम्बन्धित परियोजना अनुगमन समितिका संयोजक अकिल बहादुर कार्किका अनुसार, स्थानीय जनश्रम र पारदर्शी व्यवस्थापनको आधारमा दुवै योजना समयमै सम्पन्न गर्न सफल भएका हुन्। दुवै योजना अन्तर्गत निर्माण कार्यमा स्थानीय श्रमिकहरूलाई प्राथमिकता दिइएको थियो। यसले गाउँभित्रै रोजगारी सिर्जना गर्नुका साथै योजना प्रति जनस्तरमा अपनत्व बढाएको अध्यक्ष कार्किले बताए।
उनापानीमा अवस्थित आधारभूत स्वास्थ्य चौकीको चारैतिर पर्खाल (घेरबार) निर्माण भएपछि स्वास्थ्य सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ। स्वास्थ्यकर्मी काला कामिका अनुसार घेरबार निर्माणपछि सुरक्षा, सरसफाइ तथा सेवाग्राहीको गोपनीयता सुनिश्चित हुने वातावरण तयार भएको छ।
स्थानीय बासिन्दा मैन फडेरा भन्छिन्, “पहिले स्वास्थ्य चौकी खुला अवस्थामा थियो, चौपायाले समेत घुम्ने गर्थे। अब व्यवस्थित देखिन्छ, सबैलाई राहत मिलेको छ।”
विद्यालयका प्रधानाध्यापक धर्म फडेराले भने, “नयाँ भवन बनेपछि कक्षाकोठाको अभाव टर्यो। विद्यार्थीहरूको सिकाइ वातावरणमा सकारात्मक परिवर्तन आएको छ।”
परियोजना सञ्चालनमा पारदर्शिता, अनुगमन तथा स्थानीय सरोकारवाला निकायहरूको सहकार्य प्रशंसनीय रह्यो। वडावासीहरूले यस्ता कार्यक्रमले स्थानीय विकासमा सकारात्मक प्रभाव पारेको भन्दै आगामी वर्षमा थप यस्ता योजनाको अपेक्षा व्यक्त गरेका छन्।