कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका ३ नम्बर वडामा हिजोबाट निशुल्क स्वास्थ्य शिविर सुुरु भएको छ। गाउँपालिका र एकएक पाईला फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालित शिविरको दोस्रो दिनमा १ हजार ९ सय ३० जनाले सेवा लिएका छन्।
डाडाँमाडु कुमालगाउँ स्थित योगि नरहरिनाथ आधारभुत अस्पतालमा विहान ९ बजेबाट सुरु हुने सेवा बेलुका ६ बजे सम्म चल्ने गर्छ। ३ दिन सम्म सञ्चालन हुने शिविरमा आज विभिन्न १६ किसिमका स्वास्थ सेवा दिएका थिए।
शिविरबाट जनरल मेडिसिन सेवामा ३ सय ६४ जना, हाडजोर्नी सेवाका २ सय २१, दन्त रोग सेवाका १ सय ११ र स्त्रि रोग सेवाका १ सय २३ जनाले निशुल्क उपचार पाएको गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट बताए ।
यस्तै आँखा रोग सेवा ओपिडि २ सय ८९ , आँखाको सल्यक्रिया ३६, नाक,कान र घाटी सम्बन्धिका १ सय ९२, कानको अप्रेसन ९, छाला रोग सेवा १ सय २६, बाल रोग सेवा ८५, भिडियो एक्सरे सेवा ९४, सादा एक्सरे ४९, सामान्य सल्यक्रिया ९१, ईसिजी सेवा २, ईन्डोस्कोपी ६ र प्रयोगशाला परिक्षणमा १ सय ३२ जनाको उपचार गरिएको थियो ।
उक्त शिविरमा पहिलो दिन भन्दा दोस्रो दिनमा स्थानियको बाक्लो उपस्थिति रहेको थियो । हिजो भन्दा झण्डै ६ सय जनाको संङ्ख्यामा वृद्धि भएको अध्यक्ष विष्टले बताए। शिविर भोलि चैत्र २६ गते सम्म सञ्चालन हुनेछ।