नरहरिनाथ गाउँपालिकामा ३ दिने निशुल्क स्वास्थ्य शिविर आजबाट सुरु

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिकामा निःशुल्क बृहत् स्वास्थ्य शिविर आजबाट सञ्चालन भएको छ। ‘स्वास्थ्य नै सम्पत्ति हो’ भन्ने उद्देश्य सहित एक एक पाइला फाउण्डेशन र नरहरिनाथ गाउँपालिकाको संयुक्त आयोजनामा उक्त शिविर सुरु भएको हो।

सोही गाउँपालिका वडा नं. ३, डाँडामाडु कुमालगाउँस्थित योगी नरहरिनाथ आधारभूत अस्पतालमा आज देखि (२४-२६)  तीन दिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो। शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा १४ वटा विभिन्न स्वास्थ्य सेवाहरू निःशुल्क प्रदान गरिने आयोजकले जनाएका छन् ।

जसमा आँखाको उपचार (मोतिबिन्दुको शल्यक्रिया सहित), जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, नाक, कान, घाँटी रोग तथा शल्यक्रिया, छाला रोग, हाडजोर्नी तथा जोर्नीसम्बन्धी सेवा, दन्त सेवा, बालरोग, कलेजो रोग, फार्मेसी, प्याथोलोजी, रेडियोलोजी र ईन्डोस्कोपी सेवा प्रदान गरिनेछ।

गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिस्टले स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै यस्तो शिविर आयोजना गरिएको बताए । “हामी स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न चाहन्छौं । गाउँमै विशेषज्ञ सेवा ल्याउनु चुनौतीपूर्ण भए पनि आवश्यक छ, र यस्ता शिविरले ग्रामीण बासिन्दाको स्वास्थ्य अवस्था सुधारमा उल्लेखनीय योगदान पुर्‍याउँछ,” अध्यक्ष बिष्टले भने।

शिविर बिहान ९ बजेदेखि सञ्चालन भएको हो ।