सुर्खेत। सुर्खेतको सिटिहलमा सञ्चालित देउडा प्रतियोगिताका वाँकी खेलहरु स्थगित भएका छन्। अन्तिम पाँच समुहका लागि नतिजा घोषणा गरे लगत्तै विवाद हुदा कार्यक्रम रोकिएको हो।
३६ वटा समुहको सहभागीतामा सञ्चालन भएको देउडा प्रतियोगिताको छैटौं दिनमा नतिजा घोषणालाई लिएर विवाद भएको थियो। अन्तिम पाँच टिमको नाम घोषणा गर्ने क्रममा दैलेखका जय बहादुर थापाको समुहले कार्यक्रम अवरोध गरेको आयोजकले बताएको छ। सिंजा सभ्यता संरक्षण अनुसन्धान केन्द्रका नन्द लाल रावतको समुहलाई निर्णायकले पक्षपात गरेको भन्दै थापाले कार्यक्रम रोक्न निवेदन दिएका थिए।
उक्त विषयमा निर्णायक मण्डल र दुवै देउडा समुहबीच सहमति नहुदा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा निवेदन समेत परेको जानकारी दिए। सोही विषयको टुङ्गो नलाग्दा सम्मका लागि देउडा प्रतियोगिता स्थगित गर्ने संस्कृति संरक्षण समाज हुम्लाका अध्यक्ष तिर्थराज रोकायाले बताए।
चैत्र १६ गतेबाट सुरु भएको प्रथम खुल्ला देउडा प्रतियोगिता २२ गते समापन गर्ने कार्यतालिका रहेको थियो।