नेपाल बार एसोसिएसनको २७ औँ अधिवेशनको मतदान सुरु

काठमाडौँ। नेपाल बार एसोसिएसनको २७ औँ अधिवेशनको मतदान शुरू भएको छ। बिहान ८ बजे शुरू भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ।

अध्यक्षमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसनिकट कानून व्यवसायीको बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा विजयप्रसाद मिश्र र प्रतिपक्षी दलहरू नेकपा माओवादी, रास्वपा लगायत दलनिकट कानून व्यवसायीको व्यावसायिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ। भने स्वतन्त्र तीन जनाको पनि उम्मेदवारी परेको छ। स्वतन्त्र अध्यक्षमा अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेलले उम्मेदवारी दिएका छन्।

वरिष्ठ अधिवक्ता प्रा.डा मिश्र समूहको महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहेका छन् भने वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ। प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार यस पटक बारको निर्वाचनमा ९ हजार ९ सय ५७ मतदाता रहेका छन्। बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ। काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेको बताए। काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ। यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन्।