१८ औँ न्युज तथा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सम्पन्न

सुर्खेत । दुई दिने अन्तर्राष्ट्रिय उपकुलपति तथा १८ औँ न्युज सम्मेलन सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय को आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा चैत्र २० र २१ गते उक्त सम्मेलन भएको हो।

सम्मेलनमा १५ भन्दा बढी अनुसन्धानपत्रहरु प्रस्तुत गरिएका थिए भने उच्चस्तरीय प्यानल छलफल र गोष्ठीहरू संचालन भएको मध्यपश्चिम विश्वविद्यालयले बताएको छ । कार्यक्रमको उद्घाटन सत्रमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देव राज अधिकारीले उच्च शिक्षामा नवीनता र सहकार्यको आवश्यकता रहेको औंल्याएका थिए।

       

सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य लगायत नेपाल र भारतका गरी १४ जना उपकुलपति एवं पूर्व उपकुलपतिहरूले उच्च शिक्षामा नैतिक नेतृत्वको विकास गर्दै प्रविधि र एआईको उपयोगद्वारा शैक्षिक उत्कृष्टता कायम गर्ने तथा समावेशी र पहुँचयोग्य शिक्षाको सुनिश्चितता गर्ने प्रतिबद्धता सहित घोषणा पत्रमा हस्ताक्षर गरेका छन् ।

     

घोषणा पत्रमा बजारमुखी र नैतिकतामा आधारित पाठ्यक्रमको विकास गर्नका लागि पूर्वीय दर्शन र नैतिक सिद्धान्तलाई सबै विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्ने उल्लेख गरिएको छ । साथै उपकुलपतिहरूले तार्किक नक्साङ्कन, मानव संशाधनको पूर्वानुमान गरी आवश्यकताका आधारमा मात्रै विश्वविद्यालय स्थापना गर्न सुझाव दिएका छन् ।

सम्मेलनमा नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस्, म्यानमार, श्रीलङ्का, थाइल्यान्ड र भियतनामका विज्ञ तथा अध्येताहरू गरी २०० जनाको सहभागिता रहेको थियो।