हुम्लाका स्थानिय रैथाने बालीको मूल्य निर्धारण, प्रतिकेजी ५ देखि १० रुपैयाँले वृद्धि

सिमकोट। मनोज बोहरा, हुम्लामा उत्पादन हुने स्थानीय रैथाने बालीको मूल्य निर्धारण गरिएको छ। जिल्ला प्राथमिक खरिद समिति, हुम्लाको आज बसेको बैठकले मूल्य निर्धारण गरेको हो।

रैथाने अन्न जिल्लाबाहिर निर्यात हुने क्रम बढ्न थाले सँगै गत वर्षको मूल्य भन्दा केहि वृद्धि गरेको छ। समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा बसेको बैठकले ६ वटा बालीको मुल्यमा प्रति केजी ५ देखि १० रुपैँयाले वृद्धि गरेको छ। भने मिठे फापरको नयाँ मूल्य निर्धारण गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्ला एवम् अन्तर्गतका कार्यालयहरुले खरिद गर्ने प्रशोधित खाद्यान्नमा सिमी प्रतिकेजी १० रुपैयाँ बृद्धि गरेर १ सय ७० रुपैयाँ पुगेको छ भने रातो चिनो ५ रुपैयाँ वृद्धि गरेर प्रति केजी १ सय ८० रुपैयाँ, कागुनो ५ रुपैयाँ वृद्धि गरेर प्रति केजी १ सय ८० रुपैयाँ र तिते फापर प्रति केजी ५ रुपैयाँ वृद्धि गरेर १ सय रुपैयाँ पुर्याएको बताए। त्यस्तै, मिठे फापर प्रति केजी १ सय २० रुपैयाँ, उवा यथावत प्रतिकेजी १ सय २० रुपैयाँ र कोदो प्रतिकेजी ५ रुपैयाँले वृद्धि गरि १ सय रुपैयाँ मूल्य निर्धारण गरेको छ।

               

गत वर्ष सिमी प्रति केजी १ सय ६० रुपैयाँ , रातो चिनो प्रतिकेजी १ सय ७५ रुपैयाँ, कागुनो प्रतिकेजी १ सय ७५ रुपैयाँ, तिते फापर प्रतिकेजी ९५ रुपैयाँ रहेको थियो। त्यस्तै उवा प्रतिकेजी १ सय २० रुपैयाँ , कोदो प्रतिकेजी ९० रुपैयाँ हुदा मिठे फापरको भने यस वर्षबाट मूल्य निर्धारण गरेको छ।

प्र.जि.अ पाण्डेयको अध्यक्षतामा बसेको बैठकमा समिति का सदस्य तथा कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चुडामणि पन्त र समितिका सदस्य-सचिव तथा लिमिटेडका शाखा प्रमुख कृष्ण बहादुर थापा मगरको उपस्थितिमा सम्पन्न भएको थियो। भने सिमकोट गाउँपालिका, अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामा, सहायक प्र.जि.अ राजेन्द्र कुमार चन्द, सिमकोट गा.पा वरिष्ठ अधिकृत हेमन्त पुरी, गाउँपालिका कृृषि शाखा प्रमुख नेत्र बहादुर शाही, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष सुरेश परियार र पत्रकार हरि बहादुर रावतलाई आमन्त्रित गरेको थियो।

विगत केही वर्ष यता हुम्लाको स्थानिय रैथाने अन्न वालीहरु देशका विभिन्न ठुला सहरहरुमा निर्यात हुँदै आएको छ।