‘खुल्ला राष्ट्रिय देउडा’ प्रतियोगिताको तयारी अन्तिम चरणमा

सुर्खेत । मनोज बोहरा, कर्णाली प्रदेशमा पहिलोपटक ‘खुल्ला राष्ट्रिय देउडा ’ प्रतियोगिताको आयोजना हुने भएको छ । संस्कृत संरक्षण समाज, हुम्लाले शुक्रबार सुर्खेतमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागेको समाजका अध्यक्ष तिर्थराज रोकाया बताए। साथै ‘कार्यक्रम एकदम सफल हुन्छ भनेर मैले पूर्ण विश्वास लिएको छु । यो पहिलो कार्यक्रम हो । यसले त्यहाँको भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।’ उनले थपे।

हुम्लाले गर्ने आयोजना सुर्खेतमा किन? भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष रोकायाले हुम्लामा मात्र सिमित संस्कार पहिचान र पहिरनलाई प्रदेश सरकार, केेन्द्र सरकार सम्म पुर्याउने र संस्कृति संरक्षणमा प्रदेश सरकारले छुट्टै प्रतिष्ठान निर्माण गरोस् भन्ने उदेश्यले सुर्खेतमा नै गरिएको बताए। कार्यक्रम चैत्र १५ गते उद्घाटन गरिने भए पनि १६ गतेबाट मात्रै प्रतियोगिता सुरु गर्ने समेत जानकारी दिए।कार्यक्रम २० गते सम्मका लागि तोकेका छौ तर आवश्यकता अनुसार २/३ दिन थप हुन पनि सक्छ , रोकायाले भने।

कार्यक्रमका लागि हुम्लाका स्थानिय पालिका बाहेक कुनै पनि सरकार , संस्थासँग सहयोग नमागेको तर स्व ईच्छाले सहयोग गर्न चाहेमा सहर्ष ग्रहण गर्ने बताउदै मुख्य प्रयोजक तथा प्रायोजकहरुका लागि ५० हजार , ४० हजार र ३० हजार तोकेको बताए। कार्यक्रमको खर्च जम्मा १५ लाख सम्म लाग्ने आकलन गरिएको छ । त्यसका लागि सबै व्यवस्थापन भैसकेको समेत रोकायाले बताए।

कार्यक्रमका लागि अहिले सम्म सुप्रसिद्ध देउडा गीतका सर्जक नन्दकृष्ण जोशी, गायिका रेखा जोशी, छत्र शाही, नेत्र राज शाही, नवराज भण्डारी, ईब्सल सन्ज्याल र हेमराज अधिकारी (खन्ट्याखलास) सँग सम्पर्क भएर टुङ्गो लागि सकेको र दोहोरी गायक टीका सानू , राजु परियार लगायत चर्चित कलाकारहरु सँग सम्पर्क भैरहेको बताए।

कार्यक्रममा हुम्लामा उत्पादित अर्गानिक चिनोको खिर, मह सँग तारेचुक सहितको अचार रहेको फापरको रोटी पाइने सुपथ मुल्यका स्टलहरु रहने छन् भने बाल उद्यान रोटेपिङ, नाउ झुला, ड्राइभिङ रेल, बच्चाका लागि अन्य खेलहरु पनि राखिने छन्। साथै युद्द कलामा आधारित ढाल तरवार, दमाया नाच, स्यार्पु नाचका साथै राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ। साथै अहिले सम्म विभिन्न जिल्लाबाट गरि ८/९ भन्दा बढी समुहले टिम दर्ता गरिसकेका र केही समूह सम्पर्कमा आईराखेको समेत बताए। टिम दर्ता गर्ने अन्तिम मिति चैत्र १४ गते सम्मका लागि तोकेको छ भने दर्ता शुल्क १ हजार ५ सय रुपैँया तोकिएको छ।

पत्रकार सम्मेलनमा समाजका अध्यक्ष रोकाया, कर्णाली देउडा प्रतिष्ठानका उपाध्यक्ष जानकी रोकाया, भेरी कर्णाली लोक संस्कृति जागरण मञ्चका अध्यक्ष बलिराम देवकोटा, प्रतिष्ठानका सदस्य शान्ति अधिकारी र अदानसिंह कार्की लगायतको उपस्थिति रहेको थियो ।