हुम्ला । मनोज बोहरा, शिक्षा विकास तथा समन्वय इकाई हुम्लाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा गरेको छ । इकाईका नि.प्रमुख योगेश कुमार आले मगरले भोलि विहान ८ बजेबाट सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
इकाईले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक परीक्षा केन्द्रमा पुगिसकेको जनाएको छ। यस वर्षको एसईई परीक्षाका लागि जिल्लाभर ७ परीक्षा केन्द्र निर्धारण गरेको बताए । बालमन्दिर परिक्षा केन्द्रमा कैलाश रोकाया, मानसरोवर माविमा अमर बहादुर शाही र सीता माविमा जुनराज हमाललाई केन्द्राध्यक्षको जिम्मेवारी दिईएको छ। भने हिमज्योति माविमा जय बहादुर धामी, कोट माविमा लोकविर छत्याल, सुर्योदय माविमा टंकध्वज खत्री र मदनादेव माविमा विमल ढकाललाई केन्द्राध्यक्ष तोकिएको नि.प्रमुख आलेले बताए।
हुम्ला जिल्लामा एसईईको अवस्था
यस वर्षको एसईईमा जम्मा छात्र ५ सय ६३ र छात्रा तर्फ ५ सय ४१ जना छन्। जसमा नियमित साधारण तर्फ ४ सय ४६ छात्र र प्राविधिक तर्फ ४१ जना छन् भने आशिंक तर्फ छात्र ७६ जना रहेको आलेले बताए। त्यस्तै नियमित तर्फ छात्रा ४ सय १५ र प्राविधिक तर्फ ४८ जना परिक्षार्थी छन्। भने आशिंक तर्फ ७८ जना रहेको उल्लेख छ। यसरी हेर्दा हुम्लाबाट छात्रतर्फ जम्मा ५ सय ६३ जना र छात्रातर्फ ५ सय ४१ जना छन्। गत वर्षको तुलनामा ६० जना छात्र बढेको र ४५ जना छात्रा घटेको पाईन्छ। अघिल्लो बर्ष हुम्लाबाट ५ सय ३ छात्रा र ५ सय ८५ छात्राले परीक्षा दिएका थिए।
गत वर्ष २०८० को एसईई परीक्षामा हुम्लाबाट १ हजार १ सय ६९ परीक्षार्थी सहभागी थिए । यस वर्षको परीक्षामा विद्यार्थीहरूको सङ्ख्या ६५ जना घटेर १ हजार १ सय ४ जना छन् । चैत ७ देखि सुरु हुने एसईई १९ गते सम्पन्न हुने भएको छ । परीक्षा तालिकानुसार पहिलो दिन भोलि चैत ७ गते अनिवार्य अंग्रेजी विषयको छ।
प्रत्येक परीक्षा केन्द्रमा १ जना केन्द्राध्यक्ष र १ जना सहायक केन्द्राध्यक्ष खटाएको छ । भने जिल्लाभर ५५ निरीक्षक, ११ परीक्षा सहायक, १सय ५ सुरक्षाकर्मी र २२ जना सहयोगी गरि जम्मा २०७ जना जनशक्ति परिचालन गरेको छ। परीक्षा सञ्चालनका लागि ५ लाख २२ हजार ९ सय ६० रुपैयाँ जिल्लामा आउने कुल खर्च रहेको छ । जसमा परीक्षा केन्द्रको लागि ४ लाख १९ हजार २ सय रुपैया छुट्याईएको र १ लाख ३ हजार ७ सय ६० रुपैया इकाईका लागि छुट्याईएको शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले बताएको छ ।
२७ वटा माध्यमिक विद्यालय रहेको हुम्लामा २०८० सालको एसईई मा ४६.१९ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए । अर्थात् कुल ११ सय २९ जनामा ५ सय ४० जना परिक्षार्थी मात्र पास भए भने ६ सय २९ जना फेल भएका थिए।
कर्णाली प्रदेशमा एसईईको अवस्था
परीक्षामा कर्णाली प्रदेशबाट ३७ हजार ९ सय ११ परिक्षार्थी सहभागी हुने भएका छन्। जसमध्ये नियमिततर्फ ३१ हजार ८ सय ४, आशिंक तर्फ ६ हजार १ सय ७ र प्राविधिकतर्फ १ हजार ३ सय ४२ परिक्षार्थी छन् । शिक्षा विकास निर्देशनालयले देखाएको तथ्यांक अनुसार यस वर्ष कर्णालीबाट झन्डै २ हजार १ सय ३ विद्यार्थी सङ्ख्या बढेका छन्। गर्त बर्ष ३५ हजार ८ सय ८ विद्यार्थी एसईईमा सहभागि थिए। एसईई परीक्षामा कर्णाली प्रदेशभरी १ सय ८० परीक्षा केन्द्र तोकिएको छ। जसमा प्राविधिक धारतर्फ १६ वटा परीक्षा केन्द्र छन्। कर्णालीमा एसईई परीक्षा सञ्चालनमा १ करोड ३९ हजार ३० हजार ५ सय रुपैयाँ खर्च हुने उल्लेख छ ।