सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । यस अघि स्थगित भएको निर्वाचन उच्च अदालत सुर्खेतको परमादेश पछि कार्यतालिका सार्वजनिक गरेको हो।
आगामी १८ चैत्रमा हुने निर्वाचनका लागि संघ संगठन समूह दर्ता गर्ने समय ७ चैत्रका लागि तोकिएको छ । सोही दिन नै मतदाता सूची प्रकाशित गर्ने र ८ चैत्र मा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । भने त्यसै दिन मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।
चैत्र १० गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय चैत्र ११ गतेका लागि तोकिएको छ । १२ फागुनमा दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । सोही दिन दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने उल्लेख छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको प्रथम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
उम्मेदवारको दोस्रो नामावली प्रकाशन चैत्र १३ गतेका लागि तोकिएको छ। सोही दिन दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय छ । भने दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली पनि चैत्र १३ मा नै सार्वजनिक गरिने छ । १८ चैतमा बिहान ७ बजेदेखि दिनको ५ बजेसम्म मतदान हुने छ । यस अघि विश्व विद्यालयको स्ववियुको निर्वाचन ०८१ भदौ २८ मा तोकिएको थियो।
निर्वाचन अधिकृतको कार्यालयले भदौ ५ मा प्रकाशन गरेको अन्तिम नामावलीमा आफूहरूको नाम समावेश नभएपछि बायोलोजी समूह पाँचौं सेमेस्टरका विद्यार्थी रञ्जित विकलगायतका विद्यार्थीहरूले भदौ २६ मा विश्वविद्यालयको कार्यकारी परिषद्लाई विपक्षी बनाइ रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै भदौ २७ मा उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलासले निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश दिई कार्यकारी परिषद्का नाममा कारण देखाऊ आदेश समेत जारी गरेको थियो।
माघ १५ मा उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय मदन पोख्रेल र मातृकाप्रसाद भण्डारीको संयुक्त इजलासले स्ववियु निर्वाचन चैत २० भित्र गर्न परमादेश जारी गरेको थियो।